काठमाडौं । हिल होल्ड एसिस्ट नेपाल जस्तो सडक कन्डिसन भएको देशमा अत्यावश्यक फिचर मान्न सकिन्छ । तर, यो फिचर कम मूल्यका गाडीमा उपलब्ध हुँदैन ।
पहाडी सडकमा कार चलाउँदा अकस्मात रोक्ने र उठाउने गर्नु परेको खण्डमा हिल होल्ड एसिस्ट फिचर दिइएको गाडी भएमा चालकलाई निकै सहज हुन्छ । हाम्रो त उपत्यकामा नै ठूला उकालो भएका स्थान छन् । जहाँ ट्राफिक जामसमेत धेरै हुनेगर्छ । यस्तोमा हिल होल्ड भएका गाडी चलाउन निकै सहज हुन्छ ।
उकालो बाटोमा गाडी जाममा पर्दा नयाँ चालकलाई निकै कठिन हुने गर्छ । यस्तो चालकको कठिनाई हटाउन प्रयोग हुने हिल होल्डले गाडी अगाडि बढाउन निकै ठूलो सहयोग गर्छ । मूल्यका हिसावले ४० लाख रुपैयाँदेखि कै कम्प्याक्ट एसयूभीमा यो फिचर उपलब्ध छन् ।
कुनै समय महंगा एसयूभीमा मात्रै उपलब्ध हिल होल्ड एसिस्ट फिचर आजकाल सामान्य सब फोर मिटर एसयूभीमा समेत प्रयोग हुन थालेको छ । यो फिचर प्रदान गरिएको सबैभन्दा कम मूल्यको एसयूभी निसान म्याग्नाइटको टर्बो इन्जिन भएको एक्सएल भेरियन्ट हो ।
त्यसैगरी सब फोर मिटर एसयूभी सेग्मेन्टमै आउने महिन्द्राको एक्सयूभी ३०० को डब्लू ६ भेरियन्टबाट यो फिचर पाउन सकिन्छ । त्यसैगरी टाटा नेक्सनको एक्सई भेरियन्ट बाटै हिल होल्ड एसिस्टको प्रयोग गरिएको छ । किया सोनेटमा पनि हिल होल्ड एसिस्टको प्रयोग गरिएको छ ।
हुन्डाई भेन्यूको एस भेरियन्टभन्दा माथिका सबै भेरियन्ट र नयाँ जेनेरेशन ब्रेजाको सबै भेरियन्टमा हिल होल्ड एसिस्ट फिचर दिइएको छ । अहिले यो सब फोर मिटर सेग्मेन्ट नै नेपालमा सबैभन्दा चल्तीमा रहेको छ ।