पेट्रोल र विद्युतीय कारमा कुन किन्ने ? हेरौँ नेक्सन पेट्रोल र इलेक्ट्रीकको तुलना

काठमाडौं । नेपाल सरकारले सवारीसाधनमा लगाएको कर सुन्दा विश्वका धेरै देशमा बसोवास गर्ने मानिसको होस उड्छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा सरकारले ८० प्रतिशत भन्सार, ४० देखि १०० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट, ७ देखि १० प्रतिशत सडक निर्माण दस्तुर र २३ देखि ६० हजारसम्म हरेक वर्ष वार्षिक कर लगाउँदै आएको छ ।

यसको अलावा सवारीसाधन चढ्ने मानिसले सडक मर्मत सम्भार कर, प्रदूषण कर, पूर्वाधार कर, प्रदूषण परीक्षण कर, बिलबुक नवीकरण कर बुझाउनु पर्छ । सरकारी कर हेर्दा लाग्छ, नेपालमा सवारीसाधन चढ्नु भनेको ठूलो अपराध हो ।

अहिले पेट्रोलियम पदार्थको मूल्य महिनामा दुई पटक वृद्धि भइरहेको छ । साथै, नेपालका प्रमुख सहरहरूमा प्रदूषणको अवस्था पनि भयावह हुँदै गएको छ । यसमा पेट्रोलियम पदार्थको सट्टा विद्युतीय कार रोज्ने मानिसको संख्या दिनदिनै बढ्दै गएका छन् ।

नेपाल सरकारले चालु आर्थिक वर्षदेखि विद्युतीय गाडीमा लागाइएको करको दर पनि केही घटाएको छ । गाडीको मोटर क्षमताको आधारमा १० देखि ४० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको छ भने अन्तःशुल्क हटाइएको छ । विद्युतीय कारमा सडक निर्माण दस्तुर ५ प्रतिशत र १३ प्रतिशत भ्याट लाग्छ । जुन कम्बस्चनको तुलनामा ग्राहकमैत्री रहेको छ ।

वार्षिक सवारीसाधन करमा पनि विद्युतीय गाडीमा केही छुट दिइएको छ । अधिकतम ३० हजारसम्म मात्रै वार्षिक कर लाग्छ । अझ केही प्रदेशले विद्युतीय गाडीमा वार्षिक करसमेत लगाएका छैनन् । पेट्रोलियम पदार्थमा थुप्रै शीर्षकमा कर लगाइएको छ भने विद्युतीय गाडी चार्ज गर्ने रातिको बिजुलीमा सरकारले कर छुट दिने निर्णय गरेको छ ।

यस्तोमा टाटाले नेपालमा विक्री गर्दै आएको रेगुलर नेक्सन र नेक्सन इलेक्ट्रीकमा कुन गाडी किन्दा ग्राहकले धेरैभन्दा धेरै फाइदा लिन सक्नेछन् भन्ने विषयमा हामीले यहाँ केही तथ्य प्रस्तुत गरेका छौं ।

मूल्य

पेट्रोलियम पदार्थबाट चल्ने नेक्सनको इन्ट्री भेरियन्टको मूल्य ३९ लाख ९५ हजारदेखि टप भेरियन्टको मूल्य ५२ लाख ९५ हजार रुपैयाँसम्म रहेको छ । तर, नेक्सन इभीको मूल्य भने ३५ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजारसम्म मात्र रहेको छ ।

मूल्य हेर्दा इलेक्ट्रीक कारको टप स्पेक पेट्रोलियम कारको तुलनामा करिब १३ लाख रुपैयाँ सस्तो रहेको छ । जबकी उत्पादन लागत विद्युतीय गाडीको बढी रहेको छ ।

संचालन खर्च

गाडी किन्नु मात्र ठूलो विषय होइन । यसको संचालन खर्च अझै महँगो पर्न जान्छ । अहिले पेट्रोलबाट चल्ने नेक्सनको औषत खर्च प्रतिकिलोमिटर १७ देखि १८ रुपैयाँ पर्न जान्छ । जसमा इन्धन र मर्मत सम्भार खर्च जोडिएको हुन्छ ।

त्यही इलेक्ट्रीक नेक्सनको संचालन लागत प्रतिकिलोमिटर २ देखि ३ रुपैयाँ पर्छ । यसमा विद्युत् खर्च र मर्मतसम्भार खर्च जोडिएको छ । यसरी हेर्दा यी दुई गाडीको प्रतिकिलोमिटर संचालन खर्च करिब १५ रुपैयाँ हाराहारी फरक पर्छ ।

फिचर

पेट्रोलबाट चल्ने एक्सजेडए प्लस भेरियन्ट र इभीको एक्सजेड प्लस लग्जरी भेरियन्टमा समान फिचर उपलब्ध रहेका छन् । दुवै गाडीमा ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, इलेक्ट्रीक सनरुफ, लेदरले मोरिएको स्टेरिङ ह्वील, प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमण्ड कट अलोय ह्वील, रेन सेन्सिङ वाइपर जस्ता फिचर समान रहेका छन् ।

नेक्सन इभीमा एक्सप्रेस कुल फिचर भने छैन । तर, टायर प्रेसर मोनिटरिङ सिस्टम भने पाउन सकिन्छ । सुरक्षा फिचर पनि दुवै कारमा उत्कृष्ट रहेको छ ।

ब्याट्री खर्च

विद्युतीय गाडी चलाउन सुरू भएको ८ वर्षपछि आवश्यकता अनुसार ब्याट्री परिवर्तन गर्नुपर्ने हुन सक्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलोवाट ब्याट्रीको मूल्य १८० देखि २०० डलर प्रति किलोवाट आवर पर्छ । यसमा ३० किलोवाट आवरको ब्याट्री रहेको छ । यसको सम्पूर्ण ब्याट्री परिवर्तन गर्न परे पनि खर्च करिब ६ लाख रुपैयाँ पर्न आउँछ ।

अन्तर्राष्ट्रिय बजारमा लगातार ब्याट्रीको मूल्य घटिरहेको छ । ८ वर्षसम्ममा १०० डलर प्रतिकिलोवाट आवरमा मूल्य झर्ने प्रक्षेपण भइरहेको छ । यस्तोमा ग्राहकलाई इभी खरिद गर्नु निकै लाभदायी हुने देखिन्छ ।

इभीको सप्लाइमा समस्या

नेपालमा विक्री सुरू गरे पनि बुकिङ गर्ने ग्राहकले तत्काल इभी पाउन सक्ने अवस्था देखिएको छैन । विश्व बजारमा चिप्सको समस्या देखिएकोले गाडी उत्पादन बढाउन कम्पनीहरूलाई निकै कठिन भएको छ । यस्तोमा अझै ६ महिनासम्म यसको सहज उपलब्धता भने हुने देखिँदैन ।

 


Back_to_top