ट्याङ्कर चालकको हड्तालले उपत्यकामा पेट्रोलियम पदार्थको हाहाकार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी रोकिएपछि तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने चेतावनी दिएको छ ।

विगत तीन दिनदेखि इन्धन ठप्प पारेर आन्दोलमा उत्रेका इन्धन ढुवानीकर्ता तथा चालकको कारण उपत्यकामा तेलको हाहाकार भएको छ । ढुवानीकर्ता तथा ट्याङ्कर चालकले विभिन्न माग राख्दै मङ्गलबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकेका हुन् ।

उनीहरुले आफ्ना सेवासुविधा बढाउनुपर्ने माग राख्दै ढुवानी ठप्प पार्दा मुलुकका कतिपय स्थानमा पेट्रोलियम पदार्थको अभाव देखिन थालिसकेको छ । 

निगमले बुधबार एक सूचना प्रकाशित गरेको थियो । जसमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाइएको छ ।

केही समयअघि निगमको ढुवानी सम्झौतामा रहेका ट्याङ्कर चालकले उठाएका तलब, भत्ता, सञ्चयकोष, ट्रिप भत्तालगायत माग पूरा गरी पेट्रोलियम पदार्थको नियमित आपूर्ति सरल एवं सहज राख्ने सहमति भए पनि ट्याङ्कर चालकबाट पुनःआपूर्ति असहज गर्ने प्रयास निकै दुःखद् भएको निगमले जनाएको छ ।


Back_to_top