पछिल्ला ५ वर्षमा सर्वाधिक रुचाइएका ४ कार

काठमाडौं । सन् २०१६ देखि २०२१ सम्म नेपालमा विक्री भएका कारमा सर्वाधिक धेरै विक्री हुन्डाइ क्रेटाको भएको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध क्रेटाले विगत ५ वर्षमा निकै ठूलो सफलता पाएको थियो । जुन अहिले पनि निरन्तर रहेको छ ।

त्योसँगै मारुती सुजुकीको सब फोर मिटर एसयूभी भिटारा ब्रेजा पनि नेपाल आएदेखि नै निरन्तर सफल मोडल हो । महिन्द्राको स्कर्पियो र हुन्डाईको ग्राण्ड आइ १० नियोस पनि निकै सफल मोडल हुन् ।

यसका अलावा विगत ५ वर्षदेखि निरन्तर बजारमा रहेर सफलता पाउने कारमा मारुती सुजुकी स्वीफ्ट, फक्सवागेन पोलो जस्ता मोडल पर्छन् । यस्तोमा हामीले यहाँ सर्वाधिक सफल ४ मोडलको विषयमा चर्चा गरेका छौं ।

१. हुन्डाई क्रेटा : लक्ष्मी इन्टरकन्टिनेन्टलले सन् २०१५ को अन्तिममा नेपाल ल्याएको क्रेटा एसयूभी प्रेमीको पहिलो रोजाइ बन्न सफल भयो । आकर्षक डिजाइन, आधुनिक फिचर र आरामदायी यात्राको लागि उत्कृष्ट भएकै कारण क्रेटा निकै सफल एसयूभी बन्न सफल भएको हो ।

पहिलो जेनेरेशन क्रेटामा १.६ लिटर ड्यूल भीटीभीटी पेट्रोल, १.४ लिटर सीआरडीआइ डिजेल र १.६ लिटर सीआरडीआइ भिजिटी डिजेल इन्जिन दिएको थियो । यसको १.६ लिटर पेट्रोल र डिजेल दुवै इन्जिन निकै सफल बनेको थियो ।

सन् २०२१ मा क्रेटाको नयाँ जेनेरेशन मोडल नेपाल आएको हो । भारतमा यसको विक्री २०२० मा नै सुरू भएको थियो । कोभिड १९ संक्रमणका बीच भारतमा यसको विक्री सुरू भएको थियो । नयाँ क्रेटा पहिलेको तुलनामा थप परिमार्जित भएर आएको थियो । यसमा १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.४ लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध छ । यस पटक १.५ लिटर पेट्रोल इन्जिन निकै सफल भयो ।

२. मारुती सुजुकी ब्रेजा :  भारतमा इको स्पोर्ट र क्रेटाको सफलसँगै मारुती सुजुकीले भिटारा ब्रेजा बजारमा ल्याएको थियो । सन् २०१६ बाट बजारमा आएको ब्रेजा त्यही वर्षको अन्त्यबाट नेपाल आएको हो ।

सन् २०२० मा मारुती सुजुकीले ब्रेजाको फेसलिफ्ट बजारमा ल्याएको थियो । कम्पनीले फेसलिफ्ट मोडलमा धेरै कस्मेटीक परिमार्जन नगरे पनि इन्जिन पूर्ण रूपमा परिवर्तन गरेको थियो । सुरूमा आएको १.३ लिटर डीडीआइएस डिजेल इन्जिनलाई छाडेर नयाँ १.५ लिटर के १५ बी पेट्रोल इन्जिनमा ल्याएको हो ।

सिजी मोटोकर्पले नेपालमा विक्री गर्ने ब्रेजा डिजेल इन्जिनमा सफल भएको थियो । तर, पेट्रोल इन्जिनलाई सफल मात्रै होइन बम्पर सफल मान्न सकिन्छ । सन् २०२१ मा करिब २ हजार यूनिटको विक्री आँकडा भेट्टाएर ब्रेजाले रेकर्ड कायम गर्न सफल भएको छ ।

३. महिन्द्रा स्कर्पियो : कच्ची बाटोमा मानिस बोक्ने राजा गाडीको उपनाम पाएको स्कर्पियो पछिल्ला १४ वर्ष निरन्तर विक्री सफलता पाउने एक मात्रै मोडल हो भन्दा फरक पर्दैन । संख्यात्मक रूपमा धेरै विक्री र उच्च पर्फमेन्स स्कर्पियोको पर्यावाची हो ।

अग्नी इनकर्पोरेटले नेपाली बजारमा विक्री गर्दै आएको स्कर्पियो डिजेल इन्जिनमा मात्रै उपलब्ध रहेको छ । कम्पनीले स्कर्पियोलाई २.२ लिटर र १.९९ लिटर क्षमताको डिजेल इन्जिनमा विक्री गर्दै आएको छ ।

कम मूल्यमा फोर ह्वील ड्राइभ सिस्टम भएको गाडी खोज्नेको एक मात्रै रोजाइ बन्दै आएको स्कर्पियो अहिले पनि निकै सफल मानिन्छ । पर्यटक ओसार पसारदेखि आफ्नो दैनिकी पूरा गर्न स्कर्पियो प्रयोग गर्ने धेरै मानिस भएको कारण यसको निरन्तर सफलताको राज हो ।

४. हुन्डाई ग्राण्ड आइ १० : सन् २०१३ बाट नेपालमा उपलब्ध हुन्डाई ग्राण्ड आइ १० नेपाल आएदेखि नै निरन्तर सफल मोडलमा पर्दै आएको छ । यसको स्मुद इन्जिन, लग्जरी इन्टेरियर र कम मूल्यको कारण सधैँ माग उच्च रहन पुगेको हो ।

बजारमा पाइने रिसेल भ्यालुले पनि यसको विक्रीमा सधैं सपोर्ट गरेको मान्न सकिन्छ । हुन्डाईको चर्चित १.२ कप्पा इन्जिन यसको अर्को सबल पक्ष हो । पहिलो कार किन्ने धेरै मानिसको रोजाइमा पर्न सफल भएकै कारण ग्राण्ड आइ १० ले नेपालमा ठूलो सफलता चुम्न सकेको हो ।

 


Back_to_top