काठमाडौं । साताको सुरुवाती दिनमै विश्व चर्चित लग्जरी ब्राण्ड पोर्श्चेको इलेक्ट्रीक कार टायकन नेपाल आइपुगेको तस्विर शोसल मिडियामा आएको थियो । एउटा अटोमोवाइल प्रेमिको लागि यो समाचार पक्कै पनि रोमान्चक तुल्याउने नै थियो ।
अघिल्लो महिना भएको बेइजिङ अटो शोमा समेत निकै मानिसको भिडभाड पोर्श्चेको शोरुममा देखिएको थियो । एक जना मित्रले भनेका थिए, पोर्श्चे विश्वभर अहिले चर्चित बन्दै गएको छ ।
त्यहि चर्चित ब्राण्डको इलेक्ट्रीक कार एक यूनिट नेपाल आएको हो । नेपाल आएको पोर्श्चे टायकन मोडल सबैभन्दा पावरफुल इलेक्ट्रीक कारसमेत हो । यसले ३८४ किलोवाट (५२२ पीएस) पावर प्रदान गर्छ ।
यसको पावरलाई टप स्पीडले पनि पुष्टि गर्छ । यसको टप स्पीड क्षमता २५० किलोमिटर प्रतिघन्टा रहेको छ । यसले ३.७ सेकेन्डमा सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्छ ।
पोर्श्चेले यसमा १०५ किलोवाट आवर क्षमताको पर्फमेन्स ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जगर्दा ६०० किलोमिटरभन्दा बढी गुडाउन सकिने बताइएको छ । यसलाई डिसी चार्जरबाट १८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
लग्जरी कार भएको कारण यसको क्याविन निकै प्रिमियम छ । साथै, बडी डिजाइन र सुरक्षा फिचरमा आधुनिक फिचरले भरिपूर्ण टायकन ईभी रेगुलर बिक्रीको लागि भने उपलब्ध नहुने बुझिएको छ । यसको मूल्य ४ करोड ५० लाख हाराहारी परेको बताइन्छ ।


