२ करोड माथिका एसयूभी किन्न सक्नेलाई यस्ता छन् ७ छनोट

काठमाडौं । स्पोर्टस् युटीलीटी भेहिकल अर्थात् एसयूभी अटोमोबाइल बजारको एकदमै चल्तीको ‘टर्म’ हो । अहिले नेपाली बजारमा चार मिटरभन्दा छोटा सब कम्प्याक्ट एसयूभी, कम्प्याक्ट एसयूभी, मिडसाइज एसयूभी र फुलसाइज एसयूभी गरेर विभिन्न साइजका एसयूभीहरु उपलब्ध रहेका छन् ।

अझ सब कम्प्याक्ट एसयूभीभन्दा पनि साना माइक्रो एसयूभी समेत नेपाल आउन थालेका छन् । ह्याचव्याक र सेडानभन्दा उचाईमा अग्लो हुने, ग्राउण्ड क्लियरेन्स पनि धेरै हुने भएकाले एसयूभी चढ्ने बढिरहेका छन् ।

अहिले नेपाली बजारमा ३० लाखदेखि ६ करोडसम्म पर्ने एसयूभी उपलब्ध रहेको भएपनि २ करोडभन्दा माथि मूल्य रहेका केही चल्तीका मोडलको हामीले यहाँ चर्चा गरेका छौं ।

टोयोटा ल्याण्डक्रुजर

महंगा गाडीमा सर्वाधिक सफल मोडल टोयोटा ल्याण्डक्रुजर हो । नेपालको जुनसुकै बाटोमा चलाउन सकिने, बलियो र टिकाउ भएका कारण विगत धेरै वर्षदेखि एसयूभी बजारमा टोयोटाको बर्चश्व रहेको छ । नेपालमा टोयोटा ल्याण्डक्रुजरको फरक फरक मोडलहरु विक्री भइरहेका छन् ।

ल्याण्डक्रुजर ७० को मूल्य २ करोड ५० लाख रहेको छ भने, ल्याण्डक्रुजर प्राडोको मूल्य २ करोड ८३ लाख रहेको छ । त्यस्तै ल्याण्डक्रुजरको सबैभन्दा महंगो मोडल एलसी ३०० को मूल्य त्यसमा हुने फिचरहरुको आधारमा तय हुने टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिण्डिकेटले जनाएको छ । टोयोटाले भारतमा उत्पादन गरेको फर्चूनरको मूल्य पनि २ करोड १० लाख रुपैयाँ रहेको छ ।

जीप र्‍याङलर

अफरोड एसयूभी एक्सपर्ट अमेरिकी ब्राण्ड जीपको र्‍याङलर धेरै अफरोड प्रेमीहरुको सपनाको गाडी हो । नेपालका लागि जीपको आधिकारीक वितरक एमएडब्लु लाइफले जीप र्‍याङलरको सहारा र रुविकन माडलको एसयूभी बिक्री गरिरहेको छ । यी एसयूभीको मूल्य २ करोड ६७ लाखदेखि २ करोड ७९ लाखसम्म रहेको छ ।

कम्पनीले जीपकै अर्को एसयूभी ग्राण्ड चेरोकी पनि विक्री गरिरहेको छ । चेरोकीको मूल्य २ करोड ५९ लाख ९० हजारदेखि २ करोड ८३ लाख ८० हजारसम्म रहेको छ ।

निसान पेट्रोल

फुलसाइज एसयूभी खोज्ने ग्राहकको लागि अर्को एसयूभी हो, निसान पेट्रोल । हेर्दा मस्कुलर देखिने निसान पेट्रोल पनि नेपालको जस्तोसुकै बाटाहरुमा गुड्ने गरेको छ । जापानमा बनेको यो एसयूभी नेपालमा पायोनियोर मोटोकर्पले विक्री वितरण गरिरहेको छ । यो एसयूभीको मूल्य २ करोड ५१ लाख रहेको छ ।

हुन्डाई प्यालेसेड

कोरियन अटोमोवाइल कम्पनी हुन्डाईले यही वर्ष नेपाल ल्याएको एसयूभी प्यालेसेड पनि प्रिमियम एसयूभी हो । हुन्डाईको नेपालमा उपलब्ध गाडीहरु मध्ये सबैभन्दा महंगो एसयूभी प्यालेसेड हो ।

नेपालका लागि हुन्डाई मोटर्सका आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्यासेडको मूल्य १ करोड ९४ लाख ९६ हजार देखि २ करोड २५ लाख ९६ हजारसम्म राखेको छ ।

फोर्ड एभरेष्ट

भारतमा फोर्डको गाडीहरुको उत्पादन बन्द भएपछि नेपालमा थाइल्याण्ड तथा अन्य मूलुकमा बनेका फोर्डका महंगा गाडी आउने भएका छन् । नेपालको लागि फोर्ड मोटर्सको आधिकारीक वितरक जीओ फोर्डले थाइल्याण्डमा निर्मित फोर्डको एभरेष्ट नेपाल ल्याउने भएको छ । २ लिटर क्षमताको पेट्रोल इन्जिन र १० स्पीड अटोमेटीक गियर अप्सन रहेको यो एसयूभीको मूल्य कम्पनीले २ करोड राखेको छ ।

फक्सवागेन टोरेग

केही वर्ष नेपाल आउन रोकिएको जर्मन ब्राण्ड फक्वागेनको टोरेग फेरी नेपाल आएको छ । ३.० लिटरको टर्बो इन्टरकुल पेट्रोल इन्जिन भएको टोरेगमा ८ स्पीड अटोमेटीक गियर र फोर मोसन अलह्वील डाइभ सिस्टम उपलब्ध रहेको छ । थूप्रै अत्याधुनिक विशेषता सहित आएको टोरेग नेपाली बजारमा आधिकारीक वितरक पुजा इन्टरनेशनल प्रालि रहेको छ । कम्पनीले यो एसयूभीको मूल्य ३ करोड २५ लाख राखेको छ ।

बीएमडब्लू एक्स सिरीज

जर्मन लग्जरी अटोमोबाइल निर्माता बीएमडब्लूको एसयूभीहरु गत वर्षदेखि नेपालमा आधिकारीक विक्री भइरहेको छ । नेपालको लागि आधिकारीक वितरक लक्ष्मी प्रिमियमले आयात गर्ने यो ब्राण्डका गाडीहरु महंगा हुने गरेका छन् ।

नेपालमा बीएमडब्लूको एक्स वानदेखि एक्स ५ सम्मका मोडलहरु विक्री भइरहेका छन् । यसको मूल्य २ करोडदेखि ५ करोडसम्म रहेको छ ।

माथि उल्लेख गरिएका बाहेक मर्सिडिज र लेक्सस ब्राण्डका प्रिमियम एसयूभी पनि नेपाली बजारमा अर्डर गरेर खदि गर्न सकिन्छ ।


Back_to_top