काठमाडौं । जगदम्बा मोटर्सले प्रोटोन इमास-७ देखाएको छ । कम्पनीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर इमास-७ देखाएको हो ।
आगामी मार्चको २१ तारिकबाट बिक्री सुरु हुने प्रोटोन इमासको टेक्नोलोजी र गाडीको बारेमा जानकारी दिइएको थियो । अन्तर्राष्ट्रिय बजारमा जिलीको ग्यालेक्सी ई-५ नामले बिक्री भइरहेको एसयूभी नेपालमा भने प्रोटोन ब्राण्डमा आएको हो ।

यो ईभी पहिला नै प्रोटोनको उपस्थिति रहेको देशमा प्रोटोन र अन्य देशहरुमा भने जिलीको ब्राण्डमा बिक्री हुनेछ । आज देखाइएको इमास-७ प्राइम र प्रिमियम गरी दुई भेरियन्ट उपलब्ध हुनेछ ।
इमास-७ प्राइममा ४९.५२ किलोवाट आवरको ब्याट्री छ । यसको प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवरको एजिज सर्ट ब्लेड ब्याट्री दिइएको छ ।
अन्य ब्लेड ब्याट्रीभन्दा धेरै इनर्जी डेन्सीटी भएकोले इमास-७ प्राइम भेरियन्टले ३४५ र प्रिमियम भेरियन्टले ४१० किलोमिटरको रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरको छ ।

प्रोटोन इमास-७ को प्रिमियम भेरियन्टमा १९ इन्चको अलोय ह्वील, १६ वटा स्पीकर सहितको साउण्ड सिस्टम, हेडअप डिस्प्ले, भेन्टीलेटेड फ्रन्ट सिट जस्ता फिचर पाउन सकिन्छ ।
जगदम्बा मोटर्सले इमास-७ प्राइम भेरियन्टको मूल्य ५६ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।




