प्रदेश क्याविनेटको निर्णय: मोटरसाइकलमा पछाडि बस्नेलाई अनिवार्य हेलमेट

काठमाडौं । प्रदेश नम्बर ५ सरकारले मोटरसाइकलमा यात्रा गर्ने चालक तथा यात्रु दुबैले हेलमेट लगाउनु पर्ने व्यवस्था मन्त्रिपरिषद्बबाट पारित गरेको छ । ५ नम्बर प्रदेश सरकारद्वारा निर्मित प्रदेश यातायात ऐनमा यस्तो व्यवस्था गरिएको हो । 

प्रदेश नम्बर ५ सरकारले मन्त्रिपरिषद्बाट पारितगरि प्रदेश संसदमा पेश गरेको ऐनमा यस्तो व्यवस्था गरिएको हो । प्रदेश सरकारले बनाएको ऐनको नाम ‘सवारी, यातायात तथा परिवहन ऐन, २०७६’ राखिएको छ । 

प्रदेश सरकारले तयार गरेको ऐनको दफा ७२ (२) मा लेखिएको छ ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुईपांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा पछाडि बस्ने मानिसले सुरक्षा टोप (हेलमेट) लगाउनु पर्नेछ ।’

केही महिना अघि काठमाडौंमा पनि ट्राफिक प्रहरीले मोटरसाइकलको पछाडि बस्नेले हेलमेट लगाउनु पर्ने नियम कार्यान्वयमा ल्याउने भन्दै छलफल गरेको थियो । तर सामाजिक सञ्जाल लगायत विभिन्न क्षेत्रमा त्यसको विरोध भएपछि ट्राफिक प्रहरी पछि हटेको थियो । 

केन्द्र सरकारले बनाउने संघीय यातायात ऐनमा समेत मोटरसाइकलमा यात्रा गर्ने दुबै जनाले हेलमेट लगाउनु पर्ने व्यवस्था राखिने विषयमा छलफल भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । 


Back_to_top