काठमाडौं । नेपाली बजारमा हाल २०० सीसी सेग्मेन्टमा धेरै बाइकहरू भित्रिसकेका छन् । अहिले नेपाली बजारमा बजाज पल्सर एनएस-२००, टीभीएस अपाची आरटीआर २००-४भी, केटीएम डुक-२०० र हिरो एस्ट्रीम-२०० लगायतका बाइकहरु बिक्री वितरण भइरहेका छन् ।
पावर र स्पीडका कारण २०० सीसी बाइक विशेष गरेर युवावर्गमा लोकप्रिय रहेको छ । लामो दुरीको यात्रा गर्ने र बाइक राइडिङ्गमा रमाउनेहरूले २०० सीसी बाइक धेरै रुचाउने गरेको पाइन्छ । ठूला सीसीको बाइकमा सरकारले लगाएको अङ्कुसका वाबजुद पनि२०० सीसीमा युवाको आकर्षण रहेको पाइन्छ ।
आज हामी नेपाली बजारमा सर्वाधिक बिक्री भएको २०० सीसी सेग्मेन्टका २ भिन्न ब्राण्डका बाइकहरू बजाज एनएस-२०० र टीभीएस अपाची आरटीआर २००-४भीको तुलना गर्ने प्रयास गरेका छौं ।
इन्जिन
बजाज पल्सर एनएस–२०० मा १९९.५ सीसी सिङ्गल सिलिन्डर ४ भल्भ इञ्जिन रहेको छ । जसले ९५०० आरपीएममा २३.५ पीएस पावर तथा ८००० आरपीएममा १८.३ एनएम–टर्क जेनेरेट गर्छ । त्यस्तै, टीभीएस अपाची २००-४भीमा १९७.७५ सीसी सिङ्गल सिलिन्डर ४ भल्भ इन्जिन रहेको छ जसमा ८५०० आरपीएममा २०.५ पीएस पावर तथा ७००० हजार आरपीएममा १८.१ एनएम–टर्क जेनेरेट गर्छ ।
पल्सर एनएस-२०० को उच्च गति १३६ किलोमिटर प्रतिघन्टा रहेको छ भने, यसले ० देखि ६० किलोमिटरको गति लिन ३.६१ सेकेन्डमात्र लगाउँछ । यसमा सिक्स स्पीडको ट्रास्मिसन ग्रियर रहेको छ ।

टीभीएस अपाची आरटीआर २००-४भीको अधिकतम् गति १२९ किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ० देखि ६० किलोमिटरको गति लिन ३.९५ सेकेन्डमात्र लिन्छ । यसमा फाइभ स्पीडको ट्रान्समिसन ग्रियर रहेको छ ।
यी दुईको इन्जिनको पफर्मेन्सलाई तुलनागर्दा एनएस-२०० पावरफुल देखिन्छ ।
माइलेज
कम्पनीकाअनुसार बजाज एनएस-२०० ले प्रतिलिटर ३६ किलोमिटर माइलेज प्रदान गर्छ भने, यसमा १२ लिटर क्षमताको फ्यूल ट्याङ्क दिइएको छ ।
त्यस्तै, टीभीएस अपाची २००-४भीले प्रतिलिटर ४१ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यसको फ्यूल ट्याङ्क क्षमता पनि समान १२ लिटर नै रहेको छ । कम्पनीको दाबी अनुसार माइलेजको आधारमा टीभीएस अपाची आरटीआरभन्दा राम्रो देखिएको छ ।
ह्वीलवेस/ग्राउन्ड क्लियरेन्स
टीभीएस अपाची आरटीआर २००-४भीको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ भने, यसको ह्वीलवेश १५५३ एमएम रहेको छ । अपाची–आरटीआर २००-४भीमा १७ इञ्चको ट्यूवलेश अलोयह्वील दिइएको छ ।

त्यस्तै, बजाज पल्सर एनएस-२०० को ग्राउन्ड क्लियरेन्स १६९ एमएम रहेको छ भने यसको ह्वीलवेश १३६३ एमएम रहेको छ । एनएस-२०० मा पनि अपाची२००-४भी समान १७ इञ्च ट्यूवलेश अलाय–ह्वील रहेको छ ।
अन्य विशेषता
एनएस-२०० तथा अपाची-२०० ४-भी बाइकको आफ्नै भिन्न विशेषता रहेका छन् । एनएसको २०० मस्कुलर बढी रहेको छ भने २००-४भी नेकेड बढीमा रहेको छ । यी दुबै बाइकको पावर उत्कृष्ट रहेको छ । साथै, आकर्षक डिजाइन दिन कम्पनीले कुनै कसर बाँकी छाडेका छैनन् ।
एनएस-२०० मा सेल्फस्र्टाटमात्र दिइएको छ भने २००-४भीमा सेल्फ तथा किकस्टार्ट दुबैको सुविधा उपलब्ध रहेको छ तर नेपालमा सेल्फ स्टार्ट भर्सन मात्र उपलब्ध रहेकाे छ । दुबै बाइकको स्पीडो मिटर डिजिटल दिइएको छ भने, एनएसले टेक्नो मिटर एनालग दिँदा अपाचीमा डिजिटल रहेको छ ।
एनएसमा लो–फ्यूल वार्निङ्ग इन्डिकेटर डिजिटल दिँदा अपाचीमा लो–फ्यूल वार्निङ्ग इन्डिकेट दिएको छैन । यी दुबै बाइकमा एलईडी टेल–ल्याम्प रहेको छ । त्यस्तै, एनएसमा सामान्य पाइलट ल्याम्प छ भने अपाचीमा एलईडी पाइलट ल्याम्प दिइएको छ । एनएस-२०० को तुलनामा २००-४भीको थ्रोटल एक्जस्ट उत्कृष्ट रहेको छ ।
मूल्य
बजाज एनएस–२०० को नेपाली बजार मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ भने टीभीएस–अपाची–आरटीआर२००-४भीको बजार मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ । मूल्यका आधारमा हेर्दा टीभीएस–अपाची२००-४भी ५ हजार सस्तो रहेको छ ।
निष्कर्ष
बजाज एनएस २०० ले आफ्नो सेग्मेन्टमा विगत २ वर्षदेखि एक्लै राज गर्यो भन्दा फरक पर्दैन । युवामाझ निकै चर्चित यो बाइक चढ्ने ट्रेन्डनै चल्यो । अब यो सेग्मेन्टमा पावर र मसकुल बडी बीचको लडाईमा उसलाई टक्कर दिन टीभीएसको रेसिङ डीएनए बोकेर अपाची २०० ४भी आएको छ ।
यी दुबै बाइक उत्कृष्ट छन्, आफ्नो सेगमेन्टमा युवाहरुको पहिलो रोजाईमा पर्ने लडाईमा दुबै लागि रहेका छन् । यस मामलामा बजाज एनएस २००ले बजारमा आफुलाई पुष्टि गरिसकेको छ भने, टीभीएस अपाची २०० ४–भी तीन महिना अगाडि मात्रै आएकाले आफुलाई सिद्धगर्न बाँकी नै छ ।


