भदौंमा नेपाल आउनु अघिनै ‘एक्सयूभी-४००’मा थपियो नयाँ फिचर

काठमाडौं । महिन्द्राको पहिलो इलेक्ट्रीक एसयूभीमा फिचरहरु थप भएका छन् । कम्पनीले नेपालमा बिक्री सुरु गर्नु पहिल्यै एक्सयूभी-४०० मा भारतीय ग्राहकको प्रतिक्रिया अनुसार आवस्यक फिचर थप भएको हो ।

कम्पनीले एक्सयूभी-४०० को टप ‘इएल’ भेरियन्टमा फिचर थप गरेको हो । तर, सुरुवाती भेरियन्ट इसीमा भने फिचर थप भएको छैन । सुरक्षाको लागि निकै महत्वपूर्ण मानिने फिचरहरु थप गरिएको हो ।

यसअघि नदिइएका इलेक्ट्रोनिक्स स्टेविलिटी प्रोग्राम (इएसपी), हिल होल्ड एसिस्ट (एचएसए), अटो डिमिङि आइआरभीएम, टायर प्रेसर मोनिटरिङ सिस्टम, म्यूजिक क्वालिटी सुधार गर्न दुई वटा ट्यूटर, अगाडि फगल्याम्प, पछाडि डिक्कीमा लाइट थपेको छ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नेपाल आउन लागेको एक्सयूभी-४०० को सिधा प्रतिस्पर्धा एमजी जेडएस ईभी र टाटा नेक्सनसँग हुने देखिन्छ । अहिले बजारमा उपलब्ध नेक्सन म्याक्सकै जत्रो ब्याट्री र मोटरमा आउने एक्सयूभी ४०० एमजी जेडएसको साइजमा उपलब्ध हुनेछ ।

एक्सयूभी-४००को लम्बाई ४२०० एमएम, चौडाई १८२१ एमएम, उचाई १६३४ एमएम रहेको छ । यसमा २६०० एमएमको ह्वीलवेस रहेको छ ।

महिन्द्राले एक्सयूभी-४०० मा दुई ब्याट्री अप्सन दिएको छ । जसमा ३४.५ र ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । यसमा रहेको सानो ब्याट्रीले ३७५ किलोमिटर र ठूलो ब्याट्रीले ४५६ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ । यी दुबै ब्याट्रीले ५० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्न सक्नेछन् ।

एक्सयूभी-४०० लाई ५० किलोवाटको चार्जरले चार्ज गर्दा ब्याट्रीलाई शून्यबाट ८० प्रतिशत चार्ज गर्न जम्मा ५० मिनेट लाग्ने कम्पनीको भनाई छ । यसलाई गाडीमा उपलब्ध ३.३ किलोवाटको होम चार्जरले चार्ज गर्दा फुल चार्ज हुन १३ घण्टा लाग्छ । त्यस्तै ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा भने ६ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।


Back_to_top