काठमाडौं । जर्मन कार ब्राण्ड फक्सवागेनले चीनमा एकपछि अर्को नयाँ पार्टनर खोजी गरिरहेको छ । कम मूल्यका कार किन्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले जेट्टा ब्राण्ड नेममा साना कार उत्पादन गर्न लागेको हो ।
धेरैभन्दा धेरै मानिसको लागि विद्युतीय कारको पहुँच विस्तार गर्ने रणनीति अनुसार फक्सवागेनले जेट्टा ब्राण्डमा साना र बजेट केन्द्रित कार ल्याउने योजनालाई तिब्रता दिएको छ । त्यसको लागि चिनियाँ बजारमा सफलता हात पार्दै गएको स्टार्टअप कम्पनी लिप मोटर्ससँग कम्पनीले सहकार्य गर्न लागेको हो ।
फक्सवागेनले यसअघि चीनमा एक्सपेङ र एसएआईसी ग्रुपसँग पनि सहकार्य सुरु गरिसकेको छ । चीनमा एफएडब्लू–फक्सवागेनले विगत लामो समयदेखि काम गर्दै आएको छ । अब यो कम्पनीले लिप मोटर्सको प्लेटफर्म र टेक्नोलोजी खरिद गर्न लागेको समाचार बाहिर आएको हो ।
अहिले लिप मोटर्सले उत्पादन गर्दै आएका कारको मूल्य फक्सवागेन जेट्टाकै हाराहारी मूल्यमा पाइन्छ । कम्पनीले जेट्टा भीएस–५ र भीएस–७ बिक्री गर्दै आएको छ । आगामी तीन वर्ष भित्र जेट्टा ब्राण्डमा थुप्रै नयाँ मोडलको काम सुरु गर्ने कम्पनीले योजना बनाएको छ ।
लिप मोटर्सले गाडीको अलावा ब्याट्री, मोटर, इलेक्ट्रोनिक्स कन्ट्रोल सिस्टम, स्मार्ट ड्राइभिङ टेक्नोलोजीमा काम गरिरहेको छ । यस विषयमा लिप मोटर्सका चेयरम्यान जु जेन्जीमीङले पनि दुई वटा कम्पनीसँग कुराकानी भइरहेको बताएका छन् ।

