काठमाडौं । चीनको ‘न्यू इनर्जी भेहिकल’ उत्पादक कम्पनी बीवाइडीले एकपछि अर्को महिनामा रेकर्ड बिक्री पाउन सफल हुँदै आएको छ । कम्पनीले जुलाईमा अहिलेसम्म कै धेरै यूनिट न्यू इनर्जी भेहिकल बिक्री गरेको हो ।
बीवाइडीले जुलाईमा २ लाख ६२ हजार १६१ यूनिट गाडी बेचेर नयाँ रेकर्ड बनाएको हो । यो संख्या अघिल्लो वर्षको सोहि महिनाको बिक्रीको तुलनामा ६१ प्रतिशतले बढी हो ।
कम्पनीको सन् २०२३ को ७ महिनामा १५ लाख १७ हजार ७९८ यूनिट कार बिक्री गरेको छ । बीवाइडीले जुन महिनामा २ लाख ५३ हजार ४६ यूनिट कार बिक्री गरेको थियो । जुनको तुलनमा ९ हजारभन्दा बढी यूनिट जुलाईमा बिक्री गर्न सफल भएको हो ।
बीवाइडीले जुलाईमा प्योर इलेक्ट्रीक भेहिकल १ लाख ३४ हजार ७८३ यूनिट र प्लगइन हाइब्रिड कार १ लाख २६ हजार ३२२ यूनिट बिक्री गरेको छ । कम्पनीले जुलाईमा १ हजार ५६ यूनिट कमर्शियल भेहिकल बिक्री गरेको छ । यसँगै कम्पनीले सन् २०२३ को ७ महिनामा ८ हजार ५३२ यूनिट कमर्शियल गाडी बिक्री पुगेको हो ।
जुलाईमा बीवाइडीको उत्पादन समेत उल्लेखनियारुपमा बढेको हो । जुलाईमा २ लाख ७२ हजार ४१४ यूनिट सवारी उत्पादन गरेको थियो । गत वर्षको जुलाईमा जम्मा १ लाख ६३ हजार ३५३ यूनिट मात्रै उत्पादन भएको थियो ।
बीवाइडीले निर्यात बजारमा समेत उत्कृष्ट नतिजा पाएको छ । कम्पनीले जुलाईमा १८ हजार १६९ यूनिट निर्यात गरेको छ । यो वर्षको ७ महिनामा बीवाईडीले ७४ हजार २८९ यूनिट गाडी निर्यात गरिसकेको छ ।
तिब्र गतिमा अगाडि बढी रहेको बीवाइडी फर्चुनले प्रकाशित गरेको ५०० कम्पनीहरुको सूचीमा निकै राम्राे छलाङ लगाएर २१२ औं स्थानमा परेको छ । बीवाइडी अहिले विश्वकै चौथो ठूलो मार्केट क्याप भएको कम्पनी हो । कम्पनीको कुल मार्केट क्याप १०२ बिलियन डलरभन्दा माथि रहेको छ ।

