काठमाडौं । भिजी इम्पेक्सले बिक्री बितरण गर्दै आएको ग्रेटवाल मोटर्सको ओरा-०३ किन्नेलाई प्रभु बैंकले कर्जा दिने भएको छ । कम्पनीले बिक्री गर्दै आएको ओरा-०३ विद्युतीय कार हो ।
कर्जा दिने बिषयमा भिजी इम्पेक्स र प्रभु बैंक बीच एक सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा भिजी इम्पेक्सको तर्फबाट जिडब्लूएम नेपालका भाइस प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र प्रभु बैंक लिमिटेडका प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन् ।

ओरा-०३ ईभी खरिद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे, प्रतिस्पर्धी ब्याजदर र अवश्यकता अनुसार ७ वर्षसम्मको कर्जा अवधि उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ ।
प्रभु बैंकले ओरा इलेक्ट्रीक कार किन्न चाहनेको लागि १२.०६ प्रतिशत ब्याजदरमै अटो कर्जा प्रदान गर्नेछ । बैंकले आफ्नो वेसरेटको आधारमा ब्याजदर समायोजन गर्ने उल्लेख छ ।
अटो लोन फाइनान्सिङको लागि बैंकले व्यक्ति र फर्म दुवैको लागि कर्जा रकमको ८० प्रतिशतसम्म उपलब्ध गराउने छ । साथै, यसको नियमित अधिकतम कर्जा अवधि ५ वर्ष हुने तर, विशेष अवस्थामा यसलाई बढाएर ७ वर्षसम्म बनाउन सकिने उल्लेख छ ।
बैंकले कर्जाको प्रशासनिक खर्च भनेर ०.७५ प्रतिशत अतिरिक्त शुल्क बैंकले लगाउने छ । कर्जा चाहने ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको प्रभु बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।


