‘नाडा अटो शो २०२३’ मा हुने छैनन् यी चर्चित ब्राण्ड, चल्तीका सबै सहभागि

काठमाडौं । भदौ २६ गतेबाट आयोजना हुने ‘नाडा अटो शो २०२३’मा जापानी र यूरोपियन ब्राण्डका धेरै कार देख्न पाइने छैन । नेपालमा बिक्री हुँदै आएको जापानी ब्राण्ड टोयोटा, मित्शुबीसी, माज्दा, सुबरु, होन्डालगायतका ब्राण्ड अटो शोको हिस्सा हुने छैनन् । यी ब्राण्ड मध्य टोयोटा सर्वाधिक सफल ब्राण्ड हो ।

त्यसैगरी यूरोपियन ब्राण्ड फक्सवागेन, स्कोडा, रेनो, प्यूजो लगायतका ब्राण्ड पनि नाडा अटो शोमा देखिने छैनन् । त्यस्तै अमेरिकी ब्राण्ड जीप, मलेशियन ब्राण्ड प्रोटोन, चिनियाँ ब्राण्ड चेरी विशेषगरी घट्दो अटोमोवाइल बजारको कारण कम्पनीहरुले अटो शोमा भाग लिएका छैनन् ।

पछिल्लो दिनमा जापानी र यूरोपियन ब्राण्डको बिक्री पनि एकाध ब्राण्ड छाडेर कसैको पनि राम्रो छैन । त्यसैले कम्पनीहरुले नाडा अटोशोमा खर्च गर्ने मुड नै देखाएनन् ।

‘विद्युतीय कारमा आकर्षण बढ्दै गएको छ । जापानी र यूरोपियन ब्राण्डसँग ईभी छैन । त्यसैले पनि अटो शोमा भाग लिन इच्छा नदेखाएका होलान्’, नाडाका एक कार्यसमिति सदस्यले भने ।

यस वर्षको अटो शोमा भारतीय ब्राण्ड टाटा र महिन्द्राले सहभागिता जनाउने छन् । कोरियन ब्राण्ड हुन्डाई र किया पनि अटो शोमा सहभागि हुने ब्राण्ड हुन् । त्यसैगरी जापानी ब्राण्ड निसान र सुजुकीले पनि अटो शोमा सहभागिता जनाउने छन् ।
त्यसैगरी यूरोपियन ब्राण्ड सिट्रोन र ब्रिटिस ब्राण्ड एमजी (मोरिस ग्यारेज)ले पनि अटो शोमा आफ्ना नयाँ उत्पादन प्रदर्शनी गर्नेछन् ।

अमेरिकी ब्राण्ड फोर्डसँगै चिनियाँ ब्राण्डहरुको पनि बाक्लै उपस्थिति हुने भएको छ । विद्युतीय कार ब्राण्ड बीवाइडी, ग्रेटवाल मोटर्स, नेटा लगायतका ब्राण्डले आफ्ना उत्पादन प्रदर्शनी गर्ने भएका हुन् ।


Back_to_top