चल्तीका ३ ब्राण्डका नयाँ मोटरसाइकल नेपाल आउने

काठमाडौं । दुई पाङ्ग्रे सवारीसाधनको बजारले अझै गति लिन सकेको छैन । विगत २२ महिनादेखि निरन्तर ओरालो लागेको दुई पाङ्ग्रे सवारीसाधनको बजार चलायमान बनाउन कम्पनीहरु प्रयासरत छन् ।

नेपालमा सर्वाधिक चल्तीका मोटरसाइकल बिक्री गर्ने मध्येका बजाज र टीभीएसले नयाँ मोडल बजारमा ल्याउने तयारी थालेका छन् । दुबै कम्पनीले आफ्नो नयाँ मोडल आगामी दशैंलाई लक्षित गर्दै भदौ २६ गतेबाट आयोजना हुने ‘नाडा अटो शो २०२३’मा सार्वजनिक गर्न लागेका हुन् ।

बजाजले १५० सीसी सेग्मेन्टमा नयाँ मोडल ल्याउन लागेको हो । अघिल्लो वर्ष भारतमा बिक्री सुरु भएको पल्सर पी-१५० नाडा अटो शोमा देखाउने तयारी बजाजको आधिकारीक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गरिरहेको छ ।

त्यस्तै, टीभीएसको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले आफ्नो पहिलो क्रुजर मोटरसाइकल रोनीन अटो शोमा देखाउने छ । विगत ३ महिनादेखि नेपालका विभिन्न सडकमा परिक्षण भइरहेको रोनीन बिक्री सुरु गर्न तयार भएको मोडल हो ।

त्यसैगरी प्रिमियम मोटरसाइकल सेग्मेन्टमा उपस्थिति जनाउँदै आएको रोयल इनफिल्डले आफ्नो लाइनअपकै सबैभन्दा सस्तो मोटरसाइकल बजारमा ल्याउन लागेको हो । रोयल इनफिल्ड हन्टर-३५० नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी कम्पनीले गरिरहेको छ ।

रोयल इनफिल्डको आधिकारीक बिक्रेता अल्फा अटोमोटीभ्सले हन्टर-३५० नेपालमै एसेम्बल गरेर बिक्री सुरु गर्न लागेको हो ।

बजाज पल्सर ‘पी-१५०’

निकै स्पोर्टी डिजाइनमा तयार भएको पी-१५० बजाजको सर्वाधिक सफल पल्सर-१५० को नयाँ जेनेरेशन मोडल हो भन्दा फरक पर्दैन । ठूलो इन्धन ट्याङ्क, विभिन्न स्थानमा प्रयोग भएको ‘एज’, नयाँ हेडल्याम्प सेटअप र नयाँ सिटले यसलाई निकै सार्प बनाएको छ ।

पल्सर ‘पी-१५०’मा एन सिरिजबाट लिइएको अन्डरवेली एक्जष्ट पाउन सकिन्छ । साथै बजारमा बिक्री हुँदै आएको पल्सर-१५० भन्दा यसको तौल १० केजीले कम भएको कम्पनीको दावी छ ।

बजाजले यसमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ । यसमा दिइएको इन्फिनिटी डिस्प्लेमा गियर इन्डिकेटर, डिस्ट्यान्स टु इम्पिटी जस्ता नयाँ फिचर पाउन सकिन्छ ।

मोटरसाइकलमा यात्रा गर्नेको सहजताको लागि पी-१५० मा यूएसबी चार्जिङ पोर्टसमेत पाउन सकिन्छ ।

कम्पनीले यसमा १४९.६८ सीसीको नयाँ इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकमत १४.५ पीएस र १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान भएको छ ।

पल्सर पी १५० मा मोनोशक सस्पेन्सन दिइएको छ । मोटरसाइकलको फ्रन्टमा भने टेलिस्कोपीक सस्पेन्सन पाउन सकिन्छ । दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध पी-१५०मा अगाडि २६० र पछाडि २३० एमएमको डिस्क ब्रेक रहेको छ ।

टीभीएस रोनीन

मोटरसाइकल अफ दी इयर २०२२ को अवर्ड जित्न सफल नोनीन क्रुजर मोटरसाइकल हो । यसमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।

यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डिआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।

कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनीनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्र्फटका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।

त्यस्तै यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुबै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनीनमा राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलइडी डीआरएल, साइलेन्ट स्र्टाट फिचर जस्ता फिचर दिइएको छ ।

रोयल इनफिल्ड हन्टर-३५०

रोयल इनफिल्ड हन्टर-३५० तीन भेरियन्टमा भारतमा उपलब्ध छ । नेपालमा कुन कुन भेरियन्ट आउँछ भन्ने जानकारी प्राप्त भएको छैन । भारतमा भने हन्टर रेट्रो, हन्टर मेट्रोर र हन्टर मेट्रो रेवेल भेरियन्टमा पाउन सकिन्छ ।

हन्टर रेट्रो यसको वेस भेरियन्ट हो । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक पाउन सकिन्छ । बेस भेरियन्टमा बेसिक इन्स्ट्रुमेन्ट क्लस्टर मात्रै छ । यसका अन्य दुई भेरियन्टमा भने डबल डिस्क ब्रेक तथा कनेक्टेड फिचरसहितको कन्सोल, डबल च्यानल एबीएस पाउन सकिन्छ । वेस भेरियन्टमा भने सिंगल च्यानल एबीएस मात्रै छ ।

रोयल इनफिल्डले हन्टरमा पनि ३५० सीसी क्षमताकै इन्जिन दिएको छ । कम्पनीले मेटियर-३५० कै समान प्लेटफर्ममा हन्टर-३५० उत्पादन गरेको हो । रोयल इनफिल्डको नयाँ प्लेटर्फम जे सिरिजको इन्जिन हन्टरमा दिइएको छ ।

हन्टरमा रहेको ३४९ सीसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एयर एण्ड आयल कुल्ड इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ हर्सपावर र ४००० आरपीएममा २७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो इन्जिनसँग ५ स्पीडको गियरबक्स उपलब्ध छ ।


Back_to_top