काठमाडौं । चिनियाँ कम्पनी होजोनको आधिकारीक बिक्रेता कम्पनी सिजी मोटर्सले अपग्रेड भएको फेसलिफ्ट नेटा भी नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको जनाएको छ । कम्पनीले नयाँ नेटा भी नेपाली बजारमा ५० किलोवाट आवरको मोटरमा उपलब्ध हुनेछ ।
‘चीनमा होजोन मोटर्सले ४० र ७० किलोवाट क्षमताको मोटरमा नेटा भी फेसलिफ्ट सार्वजनिक गर्न लागेको भएपनि नेपाल भने ५० किलोवाटको मोटरमा आउने छ’, सिजी मोटर्स स्रोतले मेरोअटोसँग भन्यो ।
अहिले नेपालमा उपलब्ध नेटा भीमा ७० किलोवाट क्षमताको मोटर छ । यसमा रहेको मोटरको पावर निकै उत्कृष्ट मानिदै आएको थियो । सानो क्रसओभरमा दिइएको ९६ पीएस पावर भएको नेटा भीले १६५ एनएम टर्क प्रदान गर्छ ।
अब आउने नयाँ मोटरको पावर घट्ने छ । पावर घटेपनि यसले करमा धेरै फाइदा पाउने भएको कारण सिजी मोटर्सले सानो मोटरमा ल्याउन लागेको हो । सरकारले ५० किलोवाट क्षमताको मोटरसम्मलाई १० प्रतिशत मात्रै भन्सार लगाएको कारण नेटा भी सानो मोटरमा आउन लागेको हो ।
अहिलेकै मोटरमा ल्याउँदा यसमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्त्ःशुल्क लाग्दै आएको छ । त्यसले गाडीको मूल्य बढ्ने अवस्थामा रहेको कम्पनीको भनाई छ ।
मोडल पनि डिजाइन परिवर्तन भएर आउने
टेस्लाको जस्तै डिजाइनमा तयार भएको सानो कारको फेसलिफ्टमा अगाडि ईभीलाई प्रतिनिधित्व गर्ने क्लोज ग्रिल र तल्लो भागमा नयाँ डिजाइनको ट्रापेजोडिया सेपको डट म्याट्रिक्स प्याटर्न दिएको छ । कम्पनीले यसको नाम पनि परिवर्तन गरेर ‘नेटा एवाईए’ राख्ने बताइएको छ ।

साइडमा हेर्दा यसको फ्रन्ट फेन्डरमा चार्जिङ पोर्ट दिएको छ । त्यस्तै नयाँ नेटामा नयाँ डिजाइनको १६ इन्च डबल फोर स्पोक अलोय ह्वील पाउन सकिन्छ ।
कम्पनीले यसको मुख्य परिवर्तन पछाडिको भागमा गरेको छ । पछाडि नयाँ डिजाइनको कनेक्टेड टेललाइट, माथि रुफमा बे्रक लाइट सहितको स्पोइलरले गाडीको लुक्समा परिवर्तन ल्याएको छ ।
नेटा एवाईएको लम्बाई ४०७० एमएम, चौडाई १६९० एमएम, उचाई १५४० एमएमको रहेको छ । यो कारको ह्वीलवेस भने २४२० एमएम रहेको छ ।
कम्पनीले यसमा अहिले रहेको एनएमसी ब्याट्रीको सट्टामा लिथियम आयोन फस्फेट ब्याट्रीको प्रयोग गर्नेछ । नयाँ ब्याट्रीको रेन्ज भने ३१८ किलोमिटर हुने बताइएको छ ।
कम्पनीले ल्याउने नयाँ नेटा भीको मूल्य अहिलेको भन्दा कम हुन्छ वा हुन्न भन्ने विषयमा कम्पनीले कुनै आधिकारीक जानकारी भने दिएको छैन । यद्यपि नेपालमा लगाइएको करको कारण मूल्य भने घट्न सक्छ ।

