काठमाडौं । नेपाली बजारमा चल्तीका विभिन्न १४ ब्राण्डले विक्री गर्दै आएका आफ्ना कारको मूल्य १९ लाखदेखि १ करोड २५ लाखसम्म रहेको छ ।
हामीले बजारमा सर्वाधिक विक्री हुने हुन्डाई, मारुती सुजुकी, महिन्द्रा, किया, टाटा, फोर्ड, टोयोटा, डाट्सन, रेनो, निसान, जीप, एमजी, प्रोटोन, स्कोडा, फक्सवागेन र साङयोङले विक्री गर्दै आएको इन्ट्री लेवल कारको विषयमा जानकारी दिन खोजेका छौं ।
नेपालमा सबैभन्दा कम मूल्यमा आफ्नो इन्ट्री लेवल कारको विक्री गर्दै आएको कम्पनी मारुती सुजुकी हो । यसको आधिकारीक वितरक सिजी मोटोकर्प रहेको छ । कम्पनीले अल्टो ८०० स्टायडर्ड भेरियन्टको मूल्य १९ लाख ९ हजार रुपैयाँ रहेको छ ।

डाट्सनको इन्ट्री लेवल मोडल रेडी गो ९९९ सीसी क्षमताको इन्जिनमा उपलब्ध रहेको छ । पायोनियर मोटो कर्पले यसको मूल्य २४ लाख ४९ हजार निर्धारण गरेर विक्री गर्दै आएको छ ।
रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले क्वीडलाई इन्ट्री मोडलको रुपमा विक्री गर्दै आएको छ । यसको सुरुवाती भेरियन्टको मूल्य २५ लाख ४९ हजार रहेको छ ।

हुन्डाई सेन्ट्रो कम्पनीको इन्ट्री लेवल मोडल हो । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विक्री गर्दै आएको सेन्ट्रोमा १०७८ सीसी क्षमताको इन्जिन छ भने सुरुवाती भेरियन्टको मूल्य २५ लाख ५६ हजार रुपैयाँ तोकेर विक्री हुँदै आएको छ ।
टाटा टियागो ह्याचव्याक सिप्रदी ट्रेडिङले विक्री गर्ने सबैभन्दा कम मूल्यको कार हो । यसको सुरुवाती भेरियन्टको मूल्य २८ लाख रुपैयाँ रहेको छ । यसमा ११९९ सीसी क्षमताको इन्जिन रहेको छ ।

पायोनियर मोटोकर्पले विक्री गर्ने निसानको इन्ट्री लेवल म्याग्नाइटको मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ । म्याग्नाइटमा ९९९ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ ।
फक्सवागनको आधिकारीक वितरक पुजा इन्टरनेशनल नेपालले ९९९ सीसी क्षमताको पोलोलाई इन्ट्री लेवल भेरियन्टको रुपमा विक्री गर्दै आएको छ । एमपीआई इन्जिन उपलब्ध यो कारको मूल्य ३० लाख ९० हजार रुपैयाँ रहेको छ ।

जिओ फोर्डले नेपालमा विक्री गर्दै आएको फिगो इन्ट्री मोडल हो । यसमा १२०० सीसी क्षमताको इन्जिन दिइएको छ भने यसको सुरुवाती भेरियन्टको मूल्य ३० लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
जापानी ब्राण्ड होन्डाको अमेज इन्ट्री लेवल मोडल हो । स्याकार ट्रेडिङले विक्री गर्दै आएको अमेजमा १२ सय सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ । यसको मूल्य ३५ लाख ११ हजार रुपैया तोकेर विक्री हुँदै आएको छ ।

कियाको कम मूल्यमा विक्री हुँदै आएको मोडल सोनेटमा १२०० सीसी क्षमताको इन्जिन रहेको छ । कन्टिनेन्टल ट्रेडिङले विक्री गर्ने यो इन्ट्री लेवल मोडलको सुरुवाती मूल्य ३५ लाख ९० हजार रुपैयाँ रहेको छ ।
यूरोपियन ब्राण्ड स्कोडाको इन्ट्री मोडलको रुपमा र्यापीड बजारमा विक्री हुँदै आएको छ । एमएडब्लू इन्टरप्राइजेजले विक्री गर्ने र्यापीडमा ९९९ सीसी क्षमताको टर्बो टिएसआई इन्जिन उपलब्ध रहेको छ । यसको सुरुवाती भेरियन्टको मूल्य ३६ लाख ९० हजार रुपैयाँ रहेको छ ।
महिन्द्राको सबैभन्दा कम मूल्यको एसयूभी टीयूभी ३०० हो । अग्नी इन्कर्पोरेट प्रालिले विक्री गर्दै आएको टीयूभी ३०० मा १४९३ सीसी क्षमताको इन्जिन दिइएको छ । कम्पनीले यसको मूल्य ३७ लाख ३५ हजार निर्धारण गरेर विक्री गर्दै आएको छ ।

मोरिस ग्यारेज (एमजी) को सबैभन्दा कम मूल्यको एसयूभी इजेडएस हो । पारामाउन्ट मोटर्सले यसको मूल्य ५० लाख ९९ हजार निर्धारण गरेर विक्री गर्दै आएको छ ।

कोरियन ब्राण्ड साङयोङ नेपालमा राम्रो गर्न सकिरहेको छैन । आइएमएस मोटर्सले नेपालमा विक्री गर्दै आएको साङयोङको एक्सएलभी इन्ट्री लेवल मोडल हो । १५९७ सीसी क्षमताको एसयूभीको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
अमेरिकी एसयूभी एक्सपर्ट जीपको कम्पास नेपालमा विक्री हुने इन्ट्री लेवल मोडल हो । एमएडब्लू लाइफले विक्री गर्ने कम्पासमा १३८६ सीसी क्षमताको इन्जिन छ भने यसको मूल्य ८४ लाख ९० हजार रुपैयाँ रहेको छ ।

टोयोटाको गाडीमा इन्ट्री गर्न चाहने ग्राहकले सुरुमा नै रस मोडल किन्नु पर्ने हुन्छ । यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले विक्री गर्दै आएको टोयोटा रसमा १४९६ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ । यसको मूल्य ८६ लाख ५० हजार निर्धारण गरेर कम्पनीले विक्री गर्दै आएको छ ।
माज्दाको इन्ट्री मोडल सिएक्स ५ हो । २.० लिटर इन्जिनमा उपलब्ध माज्दा सिएक्स ५ को मूल्य १ करोड २५ लाख ९० हजार रुपैयाँ रहेको छ ।


