काठमाडौं । दुई फरक बस्तुको एउटै मूल्य भएको खण्डमा तपाईले कुनलाई रोज्नु हुन्छ भन्ने कुरा सजिलो हुँदैन । तर, दुबै बस्तुको प्रयोग समान हो भने ब्राण्ड भ्यालू र त्यसमा रहने सुविधाले निकै फरक पार्छ ।
नेपालमा यामाहाका मोटरसाइकल धेरै माइलेज दिने र मर्मत खर्च कम लाग्ने मोटरसाइकलका रुपमा चिनिन्छन् । यामाहाले बेच्ने अधिकांश मोटरसाइकल माइलेज कै कारण ग्राहकको रोजाईमा पर्दै आएका छन् ।
यामाहाले एफआई इन्जिन भएका मोटरसाइकल बेच्न थालेको धेरै सयम भइसकेको छ । यामाहाको पछिल्लो उत्पादन एफजेड-एक्स रेट्रो मोटरसाइकल एमएडब्लू इन्टरप्राइजेजले ४ लाख ५४ हजार ९०० मूल्य निर्धारण गरेर बिक्री गर्दै आएको छ ।
लगभग यहि मूल्यमा रोयल इनफिल्ड हन्टर ३५० मोडल नेपालमा उपलब्ध गराएको छ । रोयल इनफिल्डको आधिकारीक बिक्रेताको रुपमा अल्फा अटोमोटीभ नियुक्त भएसँगै नेपालमै एसेम्बल गरेर नयाँ मोडल बिक्री हुँदै आएको छ । कम्पनीले हन्टरको मूल्य ४ लाख ५९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको छ ।
रोयल इनफिल्ड विश्वभर आइकोनिक मोटरसाइकल उत्पादनमा कहलिएको ब्राण्ड हो । त्यसैले, लगभग एउटै मूल्य रहेका यी दुई मोटरसाइकलमा फरक भने निकै धेरै छ । यी दुई मोडलमा रहेका भिन्नतालाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
लुक्स
यामाहा एफजेड-एक्स १५० निओ रेट्रो डिजाइनमा तयार भएको मोटरसाइकल हो । रोयल इनफिल्ड हन्टर भने रेट्रो क्लासिक डिजाइनमा उपलब्ध छ ।
यी दुबै मोटरसाइकल झट्ट हेर्दा उस्तै देखिन्छ । तर, यामाहाको तुलनामा रोयल इनफिल्डका मोटरसाइकल केही बल्की र वेटी देखिन्छन् । यसको एग्जस्टदेखि फ्यूल ट्याङ्कसम्मको डिजाइनमा ब्यापक भिन्नता पाउन सकिन्छ ।
इन्जिन
यी दुई मोटरसाइकलको सबैभन्दा ठूलो भिन्नता नै इन्जिनमा छ । रोयल इनफिल्डमा ३४९.३४ सीसीको इन्जिन छ । जबकी यामाहाले एफजेड–एक्समा १४९ सीसी क्षमताको इन्जिन दिएको छ ।
हन्टरमा दिइएको इन्जिनले अधिकतम २०.४ पीएस पावर र २७ एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै, यामाहा एफजेडले १२.४ पीएस पावर तथा १३.३ एनएम मात्रै टर्क जेनेरेट गर्छ । यी दुबै मोटरसाइकलमा ५ स्पीड गियरबक्स पाउन सकिन्छ ।
सस्पेन्सन/ब्रेक
दुबै मोटरसाइकलका फ्रन्टमा टेलिस्कोपिक र रियरमा मोनोशक सस्पेन्सन दिएको छ । दुबै मोडलको फ्रन्ट र रियरमा डिस्क ब्रेक छ । एफजेड-एक्स १५० को फ्रन्टमा २८२ एमएम र रियरमा २२० एमएम साइजको डिस्क उपलब्ध छ ।
त्यसैगरी, हन्टर ३५० को फ्रन्टमा ३०० एमएम र रियरमा २७० एमएम साइजको डिस्क ब्रेक उपलब्ध छ । यी दुबै मोटरसाइकलमा सिंगल च्यानल एबीएस पाउन सकिन्छ ।
इन्धन/माइलेज
हन्टर ३५० मा १३ लिटर क्षमताको इन्धन ट्याङ्क उपलब्ध छ । भारतीय अटोमोटीभ्स रिसर्च एजेन्सीका अनुसार यसले प्रतिलिटर ३५ किलोमिटर माइलेज दिन्छ ।
यामाहा एफजेड एक्स १५० ले ४५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ । यसमा भने १० लिटर क्षमताको इन्धन ट्याङ्क रहेको छ ।