काठमाडौं । केटीएम २५० एड्भेन्चर मोटरसाइकलको बिक्री सुरू भएको छ । स्टक सकिएका कारण केही समयदेखि बिक्री बन्द भएको मोटरसाइकलको गत सातादेखि पुनः बिक्री सुरू भएको हो ।
८ लाख २० हजार रुपैयाँ तोकर बिक्री सुरू भएको एड्भेन्चर २५० को मूल्य दुई पटक घटेर अहिले ७ लाख रुपैयाँ बिक्री हुँदै आएको छ ।
सरकाले नयाँ बजेटमार्फत २०० सीसीभन्दा माथिका मोटरसाइकलमा कर छुट दिएसँगै हंशराज हुलास चन्द एण्ड कम्पनीले केटीएम २५० को मूल्य घटाएको थियो ।
कम्पनीले २५० एड्भेन्चरमा इलेक्ट्रोनिक अरेन्ज र फ्याक्ट्री रेसिङ ब्लू कलरमा ल्याएको छ । यो मोटरसाइकलको २०२३ भसर्न हो ।
यो मोटरसाइकलमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले ९००० आरपीएममा ३० पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
कम्पनीले यसलाई र्याली डकार रेस मोटरसाइकल केटीएम ४५० बाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर लिएको छ ।
केटीएम ३९० एडभेन्चर मोटरसाइकल समेत लामो समयदेखि बिक्री बन्द रहेको छ । कम्पनीका अनुसार ३९० एड्भेन्चरका लागि अझै केही समय कुर्नु पर्ने हुन्छ । कम्पनीले १० लाख ८९ हजार रुपैयाँ मूल्य तोकेर ३९० एड्भेन्चर बिक्री गर्दै आएको छ ।


