रिकन्डिसनमा सस्ता कार पाउनै कठिन, यस्तो छ ग्राहक र व्यवसायीको भनाई

काठमाडौं । यसअघि ५ लाख मूल्यबाटै रिकन्डिसन कार पाउने गरिएको भएपनि यस वर्ष ७ लाख रुपैयाँ हाल्दापनि रिकन्डिसनमा कार पाउनै मुस्किल भएको छ ।

रिकन्डिसन बजारमा गाडीको उपलब्धता नभएपछि पुरानै भएपनि कार किनौ भन्नेहरु निरास बनेका छन् । कोभिड १९ को कारण पुराना कारसँग नयाँ कार सट्टापट्टा गर्ने ग्राहक घटेसँगै रिकन्डिसनमा साना कार पाउनै मुस्किल भएको हो ।

काठमाडौं उपत्यकामा व्यवस्थित तरिकाले संचालनमा रहेका करिब २ दर्जन रिकन्डिसन हाउसमा कम मूल्यका कार पाउनै नसकिने अवस्था सृजना भएको छ । अघिपछि मानिसले नयाँ मोडल आएसँग ६/७ वर्ष पुराना गाडी बिक्रीगरि नयाँ किन्ने गरेको भएपनि यसपटक कोरोनाको कारण धेरै मानिसको आम्दानीमा आएको कमीले उनिहरुले पुरानै गाडीलाई निरन्तरता दिएका छन् ।

पाटन पुल्चोकमा भेटिएका शिव शंकर घिमिरे भन्छन्, ‘गाडी साट्नु पर्ने थियो । यो वर्ष साटौला भनेर बसेको कोरोनाले भएको व्यापार नै चौपट भयो’, कसरी नयाँ किन्नु उनले प्रतिप्रश्न गरे ।

उनको जस्तै समस्या धेरै मध्यमखालका व्यवसाय गरेर बस्ने व्यवसायीमा रहेको पाइन्छ ।

काठमाडौंको बागमति कोरिडोरमा संचालनमा रहेका रिकन्डिसन हाउस चाह्रेर निस्किएका रातोपुल निवासी तुलसी मर्हजन भन्छन्, ‘१०/१२ लाखमा रिकन्डिसनमा राम्रै कार पाइन्छ भनेर खोज्न हिडेको १० ठाँउमा गए होला कहि गाडी छैन ।’

त्यसोत नक्साल, हाँडीगाउँ, नयाँबजार, गौशाला, कोटेश्वर, नयाँ बानेश्वर जस्ता व्यस्थ स्थानमा रिकन्डिसन हाउसमा नयाँ पुराना गाडी खोज्नेको ओहोर दोहोर बाक्लै हुन्छ । तर, ती मानिस निरास भएर फर्कने गरेका छन् । यसले रिकन्डिसन हाउसमा कम मूल्यका गाडीको उपलब्धता निकै कम भएको पुष्टी गर्छ ।

रिकन्डिसन हाउस संचालकहरु पनि गाडी नभएर भौतारिएको बताउने गरेका छन् । विगतमा नयाँ गाडी बिक्रेता कम्पनीहरुले लगाउने ठूल्ठूला एक्सचेन्ज क्याम्पले बजारमा पुराना गाडीको आवश्यकता पुरा हुने गरेको थियो । तर, अहिले कम्पनीहरुले पनि एक्सचेन्जनमा खासै ध्यान दिएका छैनन् ।

‘अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले रिकन्डिसनमा गाडी आउन कम भएको छ । लामो बन्द, आम्दानीको स्रोतमा कमी र यस्तो अवस्थामा गाडी किन परिवर्तन गर्नु भन्ने ग्राहकको मानसिकताले गाडी बजारमा आउन सकेको छैन’, श्रेया अटोमोवाइलका संचालक सचिन कुईँकेलले भने ।

उनका अनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष ५० प्रतिशतले समग्र बजारमा ह्रास आएको छ । यातायात कार्यालय पनि चाँडै बन्द भएकाले दशैंको उत्साह रिकन्डिसन बजारमा आउनै पाएन ।

यस्तै बुझाई छ अन्य रिकन्डिसन हाउस संचालकको पनि उनिहरु भन्छन्, ‘बजारमा सबैभन्दा बढी माग हुने १० लाखदेखि २० लाख रुपैयाँसम्म पर्ने कार हो । यस्तो कार चढ्ने मानिसले अहिलेको समयमा एक्सचेन्ज गर्ने आँट गरेका छैनन् ।’

यसअघि बजारमा ५ लाखदेखि कै गाडी उपलब्ध रहँदै आएकोमा यो वर्ष त्यस्ता गाडीहरु उपलब्ध नरहेको व्यवसायीहरुको भनाई छ ।


Back_to_top