सेकेण्ड ह्याण्ड ईभीको मूल्य तीव्र गतिमा घट्दै, नेपालमा कसरी बढाउने ?

काठमाडौं । विद्युतीय सवारीसाधानको रिसेल भ्यालूलाई लिएर विश्वभर नयाँ बहस भइरहेको छ । विश्वकै अग्रणी विद्युतीय कार ब्राण्ड टेस्लाका कारमै एक वर्षमा औषत २५ प्रतिशतले रिसेल भ्यालू गिरेसँगै अमेरिकादेखि युरोपसम्म यस विषयले चर्चा पाएको हो ।

विश्व चर्चित अमेरिकी कार बाइङ साइट आईसीकार्सका अनुसार पहिलो गाडीधनीले बिक्री गर्दा केही कम रकम घटे पनि दोस्रो वा तेस्रो मानिसमा पुगेर नामसारी हुँदा कारको भ्यालू पाउनै नसकिने अवस्था छ ।

युरोपले विद्युतीय कारको प्रयोग बढाएको झण्डै एक दशक हुन लाग्यो । यहाँ पनि दोस्रो वा तेस्रो बिक्रेताले गाडीको मूल्य पाउनै नसक्ने अवस्था छ । यसको मुख्य कारण गाडीमा रहेको ब्याट्री लाइफ हो । आफूले किन्ने गाडीमा रहेको ब्याट्री कति साइकल प्रयोग भयो । ब्याट्री हेल्थ कस्तो छ ? जस्ता कारण सेकेण्ड ह्याण्ड ईभीको बजार मूल्यमा व्यापक गिरावट आएको हो ।

प्रकाशित तथ्यांक अनुसार अमेरिकामा सन् २०२० मा ५० हजार डलरमा किनेको विद्युतीय कार अहिले बजारमा बिक्रीको लागि लैजाँदा १६ हजार ५०० डलर हाराहारी पाउने अवस्था छ । यसले सेकेण्ड ह्याण्ड बजारमा कारको बिक्रीलाई अफ्ठ्यारो पारिरहेको आइसीकार्सको दाबी छ ।

नेपालमा पनि त्यस्तै समस्या ?

अहिले नेपालमा पनि विद्युतीय गाडीको रिसेल भ्यालूको अवस्था त्यस्तै छ । पहिलो गाडीधनीले एक वर्ष चलाएर बिक्रीको लागि ल्याउँदा १५ देखि २० प्रतिशत मूल्य घटिरहेको छ । दुई वा तीन वर्ष चलाएर ल्याउने हो भने किनेको मूल्यको ५० प्रतिशत मात्रै पाउन सकिने अवस्था छ ।

अझ केही पुराना मोडल त रिकन्डिसनमा बिक्री नै गर्न सकिने अवस्था छैन । बजारमा सुरूमा आएका किया सोल ईभी, बीवाइडी ई-सीक्स जस्ता मोडलको रिकन्डिसन बजारमा मूल्य नै स्थापित हुन सकिरहेको छैन ।

किन कमजोर भयो नेपालमा ?

नेपालमा रिकन्डिसन विद्युतीय कारको मूल्य घट्नुमा सेकेण्ड ह्याण्ड कार व्यापारी र बिक्रेताको कमजोरी मुख्य छ । बिक्रेता कम्पनीले ‘वाइ ब्याक ग्यारेन्टी’ दिँदैनन् । सेकेण्ड ह्याण्ड कार व्यापारीसँग ईभी टेक्नोलोजीसँग आफूलाई अभ्यस्त बनाउन सक्ने क्षमता छैन ।

बैंक तथा वित्तीय संस्थाले पनि पुराना ईभीलाई फाइनान्स सुविधा नदिने भएको कारण पनि ईभीमा कन्फिडेन्ट आउन सकेको छैन ।

यदि, नेपालमा ईभीको सेकेण्ड ह्याण्ड बजार बलियो बनाउने हो भने बिक्रेताहरूले ‘बाइ ब्याक ग्यारेन्टी’ दिनु पर्छ । त्यसले उपभोक्ताको कन्फिडेन्स लेभल बढाउने छ । अनि ढुक्कसँग ईभी किन्न सक्ने छन् ।


Back_to_top