काठमाडौं । हुन्डाई मोटर्सको डेडिकेटेड ईभी प्ल्याटफर्म ई-जीएमपीमा बनेको आयोनिक-५ अब ९२ लाख रुपैयाँमै किन्न पाइने भएको छ ।यसअघि १ करोड २ लाख रुपैयाँमा बिक्री हुँदै आएको आयोनिक-५ अब ९२ लाख ९६ हजार रुपैयाँमा खरिद गर्न पाइने भएको हो ।
यद्यपि, आयोनिक-५ को मोटर क्षमता भने घटेर नेपाल आउने भएको छ । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतका अनुसार यसअघि १२५ किलोवाट मोटरमा आइरहेको आयोनिक-५ अब भने १०० किलोवाटमै आउने भएको हो । मोटरको क्षमता घटेसँगै मूल्य पनि घटाइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ९२ लाख ९६ हजार रुपैयाँमा आयोनिक-५ खरिद गर्न चाहने ग्राहकले आजबाटै शोरुममा बुक गर्न सक्नेछन् ।
यसअघि १ करोड १७ लाख रुपैयाँ मूल्य रहेको कारकाे बीचमा करका दर हेरफेर हुँदा मूल्य घटेर १ करोड २ लाख रुपैयाँमा झरेको थियो ।
प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्ज आयोनिक-५ लग्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय कार हो । हुन्डाईले यसलाई ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको हो ।
आयोनिक-५ नेपालमा उपलब्ध अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभी हो । यसले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सर्पोट गर्छ । उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्नेछ ।
यूरोप, अमेरिकी र एशियाली देशमा बिक्री हुँदै आएको आयोनीक-५ मा ५८ किलोवाट आवरको ब्याट्री दिइएको छ । अब यसमा १०० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ ।
आफ्नो आवश्यकता अनुसार पूर्ण फोल्ड गर्न मिल्ने सिट, अगाडि र पछाडि सार्न मिल्ने आमरेष्ट, ३० प्रतिशत पातलो सिट, रिसाइकल गरिएको प्लास्टीक वोटल र फेब्रिकबाट बनेको इन्टेरियर यसको मूल्य विशेषता हो ।
हुन्डाईले ३००० एमएमको लामो ह्वीलबेस दिएको कारण यो गाडी निकै स्टेवल र आरामदायी रहेको छ । सन् २०२२ फेब्रुअरीमा यो कार नेपाल आएको थियो । सुरूमा नेपाल आउँदा यसको मूल्य ८१ लाख ९६ हजार रुपैयाँ तोकिएको थियो ।
नेपाली बजारमा प्रिमियम ईभी चड्न चाहनेहरूको लागि आयोनिक-५ एक उत्कृष्ट रोजाइ हो ।