काठमाडौं । लकडाउनका खुलेपछि आकाशिएको रिकन्डीसन बजार फेरि सुनसान भएको छ । पछिल्लो समय यातायात कार्यालयका बन्द भएका कारण रिकन्डिसन हाउसहरु सुनसान भएका हुन् ।
यातायात व्यवस्था विभाग कार्तिक ३ गतेबाटै बन्द हुँदा सेन्डह्याण्ड मोटरसाइकलको नामसारी लगायतका काम नहुँने भएपछि कारोबार नै बन्द भएको व्यवसायीहरुको भनाई छ ।
विशेषत ४० हजारदेखि १ लाख ५० हजारसम्मका मोटरसाइकल सेकेन्ड ह्याण्ड बजारमा धेरै खोज्नेहरु पाइन्छन् ।
विभिन्न कम्पनीले दशैं अफर सार्वजनिक गरेर धमाधम नयाँ मोटरसाइकल बिक्रीमा उल्लेख्य बृद्धि गरेका भएपनि रिकन्डीसन हाउसमा पुराना मोटरसाइकल आउनै छाडेका छन् । यससँगै यो क्षेत्रको व्यापार दशैंको मुखमा खस्केको हो ।
कोभिडका कारण यातायात क्षेत्र पुर्णरुपमा संचालनमा आएतापनि सार्ववजिनक सवारी साधनमा यात्रा गर्न डरलाग्दो अबस्था रहेकाले आफ्नै साधन किन्ने बढेको छन् । यसको सोझो फाइदा नयाँ मोटरसाइकल बिक्रेता कम्पनीले पाएका छन् ।
बानेश्वरमा लामो समयदेखि रिकन्डीसन हाउस संचालन गर्दै आएका सुजन श्रेष्ठका अनुसार मासिक आम्दानी भएका मानिसहरुले नयाँ मोटरसाइकल किन्ने र थोरै रकममा आफ्नै साधन किन्न चाहनेले रिकन्डिसन आउने गरेका थिए । तर, अहिले मोटरसाइकल पनि खासै उपलब्ध छैन भएपनि नामसारी हुन सक्ने अवस्था छैन ।
‘हामीसँग एकदमै कम मोटरसाइकल आइरहेको छ, आएका मोटरसाइकल बिक्री भइरहेका छन् । यातायात कार्यालय बन्द हुँदा नामसारी रोकिएको छ’, श्रेष्ठले भने ।
मध्य बानेश्वरमा रिकन्डीसन संचालन गरिरहेको धुब्र अधिकारिको गुनासो पनि उस्तै छ । उनि भनछन् ‘मोटरसाइकलको नामसारि रोकिएको कारण अहिले रिकन्डीसन व्यापार शून्य भएको छ । यातायात कार्यलयमा कोरोना देखिएको कारण नामसारि बन्द भएको हो, हामिसँग भएका मोटरसाइकल समेत बेच्न मिल्ने अबस्था छैन ।’
त्यस्तै रिकन्डीसन हाउसको हवको रुपमा चिनिने बालुज क्षेत्रमा समेत व्यापार खस्केको छ । लकडाउनपछि राम्रो व्यापार भएको थियो, तर अहिले व्यापार कम भएको छ ।
बालाजुका रिकन्डिसन संचालकहरुको एउटै भनाई छ ‘नयाँ मोटरसाइकल बिक्रेता कम्पनीहरुले नयाँ नयाँ स्कीम ल्याएर मोटरसाइकल बेचिरहेका छन् । अहिले मोटरसाइक किन्नेको संख्या बढेका कारण पुरानो मोटरसाइकल रिकन्डीसन हाउस आउनै छाडेको छ । राम्रा मोटरसाइकल आउने हो भने तत्काले बिक्री भइहाल्छ ।’
विभिन्न कम्पनीले कम डाउन पेमेन्ट तथा राम्रो छुट दिएर मोटरसाइल बिक्री गर्दै आएका छन् । यस्तोमा मासिक आम्दानी हुने मानिसले किस्तामा नयाँ मोटरसाइकल किन्न सहज भएको छ ।
कोभिड १९का कारण सार्वजनिक यातायातको विकल्पको रुपमा मोटरसाइकल किन्नेको संख्या बढ्दै गएको विभिन्न कम्पनीको पछिल्लो बिक्रीको आधारमा बुझ्न सकिन्छ ।
केहि दिन अधिमात्र टीभीएसले एकैदिन १ हजार यूनिट हाराहारीमा मोटरसाइकल बिक्री गरेको बताएको छ । यस्तै बजाजले पनि दैनिक १५००को आसपासमा मोटरसाइकल बिक्री गर्दै आएको छ ।

