काठमाडौं । कोशी प्रदेश सरकारले राइड सेयरिङलाई छुट्टै नम्बर प्लेट दिने भएको छ ।
राइड सेयरिङको विरोध गर्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश र सरकार बीच भएको बैठकमा छुट्टै नम्बर प्लेट दिने बारे छलफल भएको हो ।
रातो नम्बर प्लेटका सवारी साधनलाई यात्रु बोक्न दिन नहुनेभन्दै अहिले देशभरका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् भने गण्डकी प्रदेशमा यातायात नै ठप्प पारेका छन् ।
सोहीक्रममा, शुक्रबार यातायात व्यवसायी र कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय बीच छलफल भएको थियो । छलफलमा व्यवसायीले राइड सेयरिङलाई छुट्टै नम्बर प्लेट दिनुपर्ने प्रस्ताव राखेका थिए । साथै, नम्बर प्लेटको नमूना समेत पेश गरेका थिए । व्यवसायीको प्रस्तावमा प्रदेश सरकारले छलफल गरी विकल्प दिन सकिने बताएको हो ।
कोशी प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले राइड सेयरिङलाई छुट्टै नम्बर प्लेट दिनेबार छलफल भए पनि निर्णय भने भइनसकेको बताए ।
‘व्यवसायीले राइड सेयरिङलाई छुट्टै नम्बर प्लेट दिनुपर्ने भन्दै ज्ञापन पत्र बुझाउनु भएको छ । शुक्रबार सो बारे छलफल पनि भयो । तर, निर्णय गरिएको छैन,’ उनले मेराअटोसँग भने, ‘नयाँ तरिकाबाट सोचेर समस्या समाधन गर्नुपर्छ । तर, अहिले नै ठ्याक्कै यही गर्ने भन्ने निर्णय भएको छैन ।’
उनले प्रदेश सरकारले अध्यादेशमार्फत जारी गरेको सवारी ऐनमा पनि राइड सेयरिङ सम्बन्धी व्यवस्था गरिएको बताए । ‘अध्यादेशमा पनि तोके बमोजिम नियम गर्ने भनिएको छ । उक्त व्यवस्था कार्यान्वन गर्न नियमावली बनाउनै बाँकी छ । सो बेला छुट्टै नम्बर प्लेट बारे पनि सोच्न सकिन्छ ।’
यातायात व्यवसायीले विरोध गरेको र राइड सेयरिङ नियमन गर्नुपर्ने अवस्था बीच विकल्प दिई समस्या समाधान गरिने उनको भनाइ छ ।
गत वैशाख १७ गते कोशी प्रदेश सरकारले ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६’लाई अध्यादेश मार्फत संशोधन गर्दै राइड सेयरिङलाई कानुनी मान्यता दिएको थियो । यद्यपि, उक्त व्यवस्था कार्यान्वयनमा भने आइसकेको छैन ।
संशोधित व्यवस्था अनुसार कोशी प्रदेशमा राइड सेयरिङ गर्ने दुईपाँग्रे र चारपाँग्रे सवारीले छुट्टै अनुमति पत्र लिनुपर्नेछ । साथै, यात्रीको बीमा गरी सरकारले तोकेको भाडा अनुसार यात्री ओसारपसार गर्नुपर्नेछ ।
‘उपदफा (२) मा जनसुकै कुरा लेखिएको भएता पनि निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा दुइ पाङ्ग्रे सवारीले छुट्टै अनुमति पत्र लिई तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बीमा गरी यात्री ओसारपसार (राइड सेयरिङ) गर्न सक्नेछ,’ संशोधित ऐनको दफा ८ को उपदफा (४) मा भनिएको छ ।

