टिप्परको ठक्करबाट एकको मृत्यु, स्थानीयले टिप्परमा आगो लगाए

भक्तपुर । बा ४ ख ३५५८ नं को टिप्परले एक स्कुटरलाई पछाडिबाट आज अपराह्न ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । 

स्थानीय जडीबुटीमा बालुवा बोकेर कोटेश्वरतर्फ जाँदै गरेको टिपरले कोटेश्वरतर्फ नै गइरहेको बा ७० प ९३९९ स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार काभ्रेपलान्चोक घर भएकी २४ वर्षीया अस्मिता भण्डारीको मृत्यु भएको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ । 

घाइते भण्डारीलाई उपचारका लागि ललितपुरस्थित बिएण्डबी अस्पतालमा लगिएकामा अस्पतालले मृत्यु भएको जानकारी दिएको हो । स्कुटर चालक आशिष उप्रेती भने सामान्य घाइते छन् । 

दुर्घटनापछि आक्रोशित भीडले ठक्कर दिने टिप्परमा आगो लगाइदिएको छ । आगलागीबाट टिप्परमा क्षति पुगेको छ भने टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनापछि सडक बन्द हुँदा कोटेश्वरबाट पेप्सीकोला तथा कोटेश्वरबाट भक्तपुरतर्फ जाने सवारी साधन एक घण्टा प्रभावित भएको थियो । 

ठक्कर दिने चालकलाई कारवाहीको माग गर्दै सडकमा स्थानीयवासीले निकैबेर नाराबाजी गरेका थिए । काठमाडौँबाट आएका दुई दमकलले आगो नियन्त्रणमा लिएका छन् । 


Back_to_top