लकडाउनमा राजमार्ग प्रयोग कर नलाग्ने, कहाँ कति तिर्नु पर्थ्यो

काठमाडौं । सरकारले राजमार्ग प्रयोग गर्ने सवारीसाधनको लागि लगाइएको कर नलिने भएको छ । हाल कोरोना भाइरसका त्रासका कारण देशभर लक डाउन घोषणा गरिएको छ । यससँगै सरकारले राजगमार्ग उपभोग कर नलिने घोषणा गरेको हो ।

सडक विभागका महानिर्देशक केशव शर्माका अनुसार लकडाउन अवधिभर कुनै पनि सडक उपभोग दस्तुर लिइने छैन ।

‘लकडाउन छ के दस्तुर लिनु मान्छे छैन, अत्यावश्यक सवारी मात्र गुडेको छ,’ शर्माले मेरोअटोसँग भने ।

संघीय सरकारले सडक उपभोग दस्तुर २०७६ असारबाट बढाएर उठाउन थालेको थियो । राजमार्गमा सञ्चालन हुने सवारी साधनको सडक कर सडक बोर्ड नेपालले उठाउँदै आएको छ ।

सरकारले सडक उपभोग कर मोटरसाइकलदेखि ठूला सवारीसाधनसम्मलाई लगाउँदै आएको छ । जसमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँसम्म रहेको छ ।

नौबिसे-मुग्लिङ सडकखन्डको प्रयोग वापत ठूला सवारी साधन बस, मिनीबस, ट्रक, र हेभिमेशिनरी इक्विप्मेन्टले १२० रुपैयाँ तिर्नु पर्ने हुन्छ भने साना कार, जीप, पिकअप भ्यान र ट्रयाक्टरले ५० रुपैयाँ तिर्नु पर्छ । टेम्पो र मोटरसाइकलले समान १० रुपैयाँ बुझाउछन् ।

त्यस्तै नारायणगढ-हेटौंडा क्षेत्रमा ठूला सवारीलाई १०० रुपैयाँ दस्तुर साना कार, जिप भ्यानले ४० रुपैयाँ र मोटरसाइकलले १० रुपैयाँ सडक उपभोग दस्तुर तिर्दै आएका छन् ।

त्यसैगरी नारायणघाट बुटवल खण्डका लागि बस, मिनिबस, ट्रक र हेवी मेसिन इक्वीपमेन्टका लागि १३०, कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरका लागि ६० रुपैयाँ र तीन पांग्रे टेम्पु र मोटरसाइकलको लागि १० रुपैयाँ तोकिएको छ ।

दमक इटहरीका लागि ठूला सवारीका लागि १२५, सानाका लागि ५०, विराटनगर धरानका लागि ठूला सवारीका लािग ७०, सानाका लागि २५ रुपैयाँ, कोशी जैहरुवाका लागि ठूलाका लागि १४०, सानाका लागि ५५ रुपैयाँ दस्तुर तोकिएको छ ।

जैहरुवा पथलैयाका लागि ठूला सवारीका १२५, सानाका लागि ८५, हेटौंडा विरगञ्जका लागि ठूला सवारीका लागि ८५, सानाका लागि ५०, विरगञ्ज पथलैयाका लागि ठूला सवारीका लागि ५० सानाका लागि २० र टेम्पु र मोटरसाइकलको लागि १० रुपैयाँ कायम गरिएको छ ।

खुर्कोट, सिन्धुली र बर्दिबाससम्मको लागि ठूलाका लागि ११५, सानाका लागि ४५ र टेम्पु र मोटरसाइकलको लागि १५ तथा पाँचखाल मेलम्चीका लागि ठूला सवारीका लागि ५०, सानाका लागि १५ र टेम्पु र मोटरसाइकलको लागि ५ रुपैयाँ कायम गरिएको थियो ।

धुलिखेल खुर्कोटका लागि ठूला सवारीका लागि १२५, सानाका लागि ५० र टेम्पु र मोटरसाइकलको लागि १५ रुपैयाँ कायम छ ।


Back_to_top