काठमाडौं । रोयल इनफिल्डले आफ्नो पहिलो विद्युतीय मोटरसाइकल फ्लाइङ फ्लिया सी ६ को भारतमा डेलिभरी सुरू भएको छ ।
कम्पनीले विद्युतीय मोबिलिटी ब्राण्ड फ्लाइङ फ्लिया अन्तर्गतको सी ६ मोडलको डेलिभरी बेंगलुरुबाट औपचारिक रूपमा गर्न थालेको हो ।
फ्लाइङ फ्लिया सी ६ यही वर्ष भारतीय बजारमा लन्च भएको रोयल इनफिल्डको पहिलो इलेक्ट्रीक मोटरसाइकल हो । कम्पनीले चरणबद्ध रूपमा बजार विस्तार गर्ने योजना अनुसार पहिलो चरणमा बेङ्गलुरुलाई छनोट गरेको बताएको छ ।
रोयल इनफिल्डले भारतमै निर्माण गरेको सी ६ स्ट्रोम ब्ल्याक र फ्लिया ग्रीन गरी दुई कलर अप्सनमा उपलब्ध छ । भारतीय बजारमा फ्लाइङ फ्लिया सी ६ को प्रारम्भिक मूल्य २ लाख ७९ हजार भारु (एक्स शोरुम) तोकिएको छ । साथै, ग्राहकहरूले यसमा बास सिस्टम पनि रोज्न सक्ने छन् । बास अन्तर्गत मोटरसाइकलको मूल्य १ लाख ९९ हजार भारु रहेको छ ।
रोयल इनफिल्डले बेङ्गलुरुमा ग्राहकका लागि विशेष बिक्री तथा सेवा नेटवर्क पनि स्थापना गरेको छ । कम्पनीले हब एण्ड स्पोक सेवा मोडेल सुरू गरेको हो । जसमा मुख्य सेवा केन्द्र बीटीएम लेआउटमा रहेको छ । विशेष तथा जटिल मर्मत कार्य मुख्य केन्द्रबाट गरिनेछ । नियमित सेवा तथा मर्मतका लागि शहरभरी विभिन्न स्पोक सेवा केन्द्रहरू सञ्चालन गरिनेछन् ।
त्यस्तै, खरिद गर्ने प्रत्येक ग्राहकलाई २४×७ रोडसाइड असिस्टेन्स सुविधा पनि प्रदान गरिनेछ । कम्पनीका अनुसार यसले यात्राका क्रममा कुनै समस्या आएमा तत्काल सहयोग सुनिश्चित गर्नेछ ।
फ्लाइङ फ्लिया सी ६ रोयल इन्फिल्डको विद्युतीय मोटरसाइकल बजारमा पहिलो प्रवेश हो । यसमा पुरानो फ्लाइङ फ्लिया मोटरसाइकलबाट प्रेरित नियो रेट्रो डिजाइन र आधुनिक ईभी प्रविधिको संयोजन गरिएको छ ।
मोटरसाइकलमा १५.४ किलोवाटको मोटर छ । यसले ६० एनएम टर्क जेनेरेट गर्छ भने ३.९१ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यसमा प्रयोग गरिएको ब्याट्रीले फुल चार्जमा १५४ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
फ्लाइङ फ्लिया सी ६ लाई कम्पनीले प्रिमियम इलेक्ट्रीक सेग्मेन्ट लक्षित गर्दै ल्याएको हो । आकर्षक डिजाइन, राम्रो रेन्ज र एड्भान्स फिचरका कारण यो मोटरसाइकल बजारमा बलियो प्रतिस्पर्र्धी बन्न सक्ने संकेत देखिएको छ ।
यसका अलावा रोयल इन्फिल्डले बेङ्गलुरुपछि अन्य भारतीय शहरहरूमा पनि फ्लाइङ फ्लिया ब्राण्ड विस्तार गर्ने योजना बनाएको छ ।


