विश्व बजारमा आक्रमक बन्दै ग्रेट वाल मोटर, नेपालमा भाेलि नयाँ मोडल लन्च हुने

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी ग्रेट वाल मोटर (जीडब्लूएम) विश्व बजारमा आक्रमक रुपमा अघि बढेको छ ।

कम्पनीले विश्व बजारमा १ करोड युनिट बढी सवारी बिक्री ऐतिहासिक उपलब्धि हात पारेको हो । कम्पनीले आफ्नो स्थापनाको ३५ औँ वर्षगाँठको अवसरमा कम्पनीको अन्तर्राष्ट्रियकरण यात्राका ऐतिहासिक उपलब्धिहरू सार्वजनिक गरेको छ।

एउटा सानो स्वदेशी अटोमोबाइल कम्पनीकको रुपमा स्थापना भएको ग्रेट वाल मोटर अहिले विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ ।

मध्यपूर्वमा पहिलो ढुवानीबाट सुरू भएको यो यात्रा क्रमशः युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, युरेसिया हुँदै थाइल्यान्ड, जर्मनी, ब्राजिल र मेक्सिकोसम्म फैलिएको छ ।

प्रत्येक नयाँ बजारमा प्रवेशसँगै कम्पनीले स्थानीय उत्पादन, स्थानीय संचालन र विश्वव्यापी आपूर्ति शृंखला एकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै आफ्नो विश्वसनीयता र ग्राहक आधारलाई निरन्तर सुदृढ बनाउँदै आएको छ।

यस लामो र निरन्तर यात्रामा ग्रेट वाल मोटरले प्रविधिगत नवप्रवर्तनलाई सधैँ प्राथमिकतामा राखेको छ । हाल कम्पनीले हाभल, वेई, ट्याङ्क, ओरा र पोअर गरी ५ सबब्राण्डका सवारी उत्पादन गर्छ । जुन विश्व बजारमा उपलब्ध छन् ।

हाभल एसयूभीको विश्वव्यापी कुल बिक्री ५० लाख युनिटभन्दा माथि पुगेको छ । साथै, न्यू इनर्जी भेहिकलमा आधारित र कठिन भूभागमा संचालन हुने प्रविधिको मापदण्ड पुनर्परिभाषित गर्ने ‘हाइ–फोर’ पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेको छ । त्यस्तै ‘ओरा’ले आफ्नो अनौठो तथा भावनात्मक डिजाइन शैलीका कारण विश्वभर व्यापक प्रशंसा र पहिचान कमाएको छ।

नेपालमा भाेलि नयाँ मोडल लन्च हुँदै

विश्वव्यापी विस्तार अभियान अन्तर्गत ग्रेट वाल मोटर नेपालमा पनि उपलब्ध छ । नेपाली बजारमा ग्रेट वाल मोटरको आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालि रहेको छ ।

कम्पनीले यस अघि नै ग्रेट वाल मोटरका ट्यांक सिरिजका गाडी उपलब्ध गराउँदै आएको छ । अब भाेलि ओराको नयाँ इलेक्ट्रीक एसयूभी सार्वजनिक गर्ने भएकाे हो ।

नयाँ एसयूभी ग्रेट वाल मोटरका अत्याधुनिक विद्युतीय प्रविधि, सुरक्षा मापदण्ड तथा स्मार्ट सुविधाहरू समावेश गरिएका छन्। साथै, नेपाली सडकको आवश्यकता र अवस्थाअनुसार यसको डिजाइन गरिएको कम्पनीले जनाएको छ।

नेपालमा नयाँ एसयूभी लन्च योजनाले जीडब्लूएमको विश्वव्यापी विस्तार रणनीतिलाई थप मजबुत बनाउनुका साथै नेपाली अटोमोबाइल बजारमा पनि नयाँ युगको सुरूवात गर्ने अपेक्षा गरिएको छ ।


Back_to_top