काठमाडौं । नेपालमा कुनै समय सर्वाधिक बिक्री हुने सेग्मेन्ट ह्याचब्याक अहिले निकै कमजोर देखिएको छ । सन् २०२६ सुरू भएसँगै ह्याचब्याक कारको बजार झनै कमजोर भएको हो ।
प्यासेन्जर कार सेग्मेन्टमा आयात भएका ईभी र पेट्रोलियम पदार्थबाट चल्ने साना कारको बिक्रीमा निरन्तर गिरावट देखिएको हो । सन् २०२५ मा कुल कार बिक्रीको २३ प्रतिशत बजार हिस्सा ह्याचब्याक कारको थियो । सन् २०२६ को जुन १५ तारिखसम्मको तथ्यांकमा बजार हिस्सा घटेर १७ प्रतिशतमा झरेको छ ।
खासगरी विद्युतीय ह्याचब्याक कारको बिक्रीमा गिरावट आएसँगै बजार हिस्सा गुमेको देखिन्छ । सन् २०२५ भर कुल १५ हजार ८८७ युनिट कार बिक्री भएकोमा ह्याचब्याक कारको संख्या ३ हजार ५९१ युनिट थियो ।
पेट्रोल कारमा ह्याचब्याक सेग्मेन्टमा धेरै ठूलो परिवर्तन छैन । यद्यपि, यहाँ पनि बजार हिस्सा भने घट्दो देखिन्छ । सन् २०२५ मा १३ प्रतिशत बजार हिस्सा पेट्रोलियम पदार्थबाट चल्ने ह्याचब्याक कारको रहेकोमा २०२६ को जुन १५ तारिखसम्मको आयातलाई आधार मान्दा १ प्रतिशतले बजार हिस्सा घटेर १२ प्रतिशत कायम भएको छ ।
नेपालमा २०२५ मा पेट्रोलबाट चल्ने ह्याचब्याक कार ५५९ युनिट बिक्री भएको थियो । सन् २०२६ को जुन १५ तारिखसम्म केबल १४९ युनिट मात्रै पेट्रोल ह्याचब्याक कार आयात भएका छन् । सन् २०२५ मा ४ हजार ७४ युनिट पेट्रोलियम पदार्थबाट चल्ने प्यासेन्जर कार आयात भएकोमा सन् २०२६ को जुन १५ तारिखसम्ममा केबल १ हजार ३१० युनिट आयात भएको देखिन्छ ।
समग्रमा हेर्दा ह्याचब्याक कार सेग्मेन्टलाई उपभोक्ताले रोज्न छाडेको बुझ्न सकिन्छ । नेपालको खराब हाइवे, आकर्षक लुक्सका एसयूभी र ह्याचब्याक कारकै मूल्यमा एसयूभी पाइने भएको कारण उपभोक्ताले एसयूभी धेरै रोजेको बुझ्न कठिन छैन ।
यद्यपि, राम्रो बडी क्वालिटी, स्मुद ड्राइभिङ र आरामदायी परिवारिक यात्रा चाहनेको लागि ह्याचब्याक कार सधैँ उत्कृष्ट डिल हुन सक्छ ।


