ऊर्जामन्त्री बस्नेत भन्छन्, ‘ईभीको प्रयोग बढाउन तीन काम गरौं’

फाइल तस्बीर

काठमाडौं । ऊर्जामन्त्री शक्ति बहादुर बस्नेतले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन तीन काम तिब्रगतिमा गर्नु पर्ने धारणा राखेका छन् । मन्त्री बस्नेतले नेपालले विद्युत उपभोग बढाउनुको विकल्प नरहेको बताउँदै ईभीको प्रयोगमा जोड दिनु पर्ने बताए ।

हिजो सोमबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘ईभी डायलग-२०२३’मा बोल्दै ऊर्जामन्त्री बस्नेतले सरकार ईभीको प्रयोग बढाउन लागि परेको र ब्यवसायी ताथा नागरिक तबरबाट मुख्य तीन काम हुनसके ईभीको प्रयोग बढ्ने धारणा राखे ।

नेपालमा विद्युतीय साधनप्रति मानिसको चासो बढ्दै गएको भएपनि यसलाई तिब्र बनाउन गर्नु पर्ने पहिलो काम सचेतना बिस्तार रहेको उनले बताए ।

‘विद्युतीय सवारीसाधनका फाइदाका विषयमा हरेक नागरिकलाई बुझाउनु पर्छ । त्यसको लागि एउटा विशेष क्याम्पेन नै गर्नुपर्छ । सरकार त्यसको लागि तयार छ’, मन्त्री बस्नेतले भने ।

उनले दोस्रो काम पूर्वाधार निर्माण भएको धारणा राख्दै भने, ‘ईभीको लागि आवश्यक मुख्य पूर्वाधार चार्जिङ नेटवर्क विस्तार र बनेका चार्जिङ स्टेशनको सहि प्रयोग र मेन्टिनेन्समा काम गर्नु पर्छ । सहजै चार्जिङ स्टेशन पाउने भएपछि मानिसको कन्फिडेन्ट बढ्छ ।’

ईभीको प्रयोग बढाउन गर्नु पर्ने तेस्रो काम प्रमोशनल एक्टीभीटी हो । ईभीको विषयमा जानकारी दिने, यसका फाइदा सहजै बुझ्नेगरी देखाउने, विज्ञापन गर्ने र ग्राहकलाई आकर्षित गर्न विशेष क्याम्पेन चलाउन सकेको खण्डमा ईभीको प्रयोग बढ्ने ऊर्जामन्त्रीको भनाइ थियो ।

सरकार उर्जा उत्पादन बढाउने र नेपालमा उत्पादन भएको ऊर्जा यही खपत गर्ने बाटो बनाउन लागि परेको बताउँदै उनले भने, ‘सबैका लागि ऊर्जा, समृद्धिको लागि ऊर्जा र भविष्यको लागि ऊर्जा भन्ने नारासहित सरकारले काम गरिरहेको छ ।’


Back_to_top