साउन र भदौमा आए १ हजार १५७ युनिट विद्युतीय कार, कसको कति ?

काठमाडौं । गत माघदेखि जेठ १४ गतेसम्म ठूलो परिमाणमा आयात भएको विद्युतीय सवारी साधन (ईभी)को आयात चालु आर्थिक वर्षमा भने सुस्ताउँदै गएको छ ।

विशेषगरी पहिला नै धेरै कार ल्याएर राखेका कम्पनीहरूले आयात घटाउँदा दुई महिनामा १ हजार १५७ युनिट मात्रै ईभी आयात भएको हो । जबकि गत माघदेखि जेठ मध्यसम्म (साढे ४ महिना)मा मात्रै ६ हजार बढी ईभी आयात भएको थियो ।

विद्युतीय कार बिक्रीमा निकै आक्रमक देखिएको बीवाइडी, टाटा र एमजीको आयात तीन अंकमा देखिन्छ । नयाँ प्लेयरका रूपमा बजारमा प्रबेश गरेका दिपल र ओमोडा/जेको ब्राण्डले पनि तीन अंकमा गाडी आयात गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सबैभन्दा बढी कार टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आयात गरेको देखिन्छ । सिप्रदीले आफ्नो नयाँ मोडल पन्च ईभी २७६ युनिट, टिगोर ईभी १२५ युनिट र टियागो ईभी २० युनिट गरी कुल ४२१ युनिट आयात गरेको हो ।

ओमोडा जेको र दीपल ब्राण्डले समान १८५/१८५ युनिट विद्युतीय कार ल्याएका छन् । जसमा एसपीजी अटोमोबाइलले ओमोडा ई-५ को आयात १३३ युनिट गर्दा जेको जे-६ को आयात ५२ युनिट भएको छ । त्यसैगरी, एमएडब्लू वृद्धिले दीपलको एस-०७ को आयात १६५ युनिट हुँदा एल-०७ को आयात २० युनिट भएको देखिन्छ ।

बीवाइडीले दुई महिनाको अवधिमा १७० युनिट कार आयात गरेको छ । साइमेक्स इंकले एटो-३ एड्भान्स भेरियन्ट १०० युनिट, डल्फीन ५० युनिट र एटो-३ सुपेरियर भेरियन्ट २० युनिट छ ।

दुई महिनाको अवधिमा पारामाउन्ट मोटर्सले एमजी कोमेट ५४ युनिट, जेडएस ईभी एक युनिट र साइबरस्टर एक युनिट गरी कुल ५६ युनिट कार आयात गर्दा सीजी मोटर्सले पनि ५६ युनिट कार आयात गरेको छ । कम्पनीले नेटा भी ३२ र नेटा एक्स २४ युनिट गरेर ५६ युनिट आयात गरेको हो ।

सीजी मोटर्सले नै दायून कार ४० युनिट आयात गर्दा जिकर, लिपमोटर,भोल्टास, केई, नामी,स्मार्ट लगायतका अन्य ब्राण्डले ४४ युनिट विद्युतीय कार आयात गरेका छन् ।


Back_to_top