काठमाडौं । स्कोडा इन्डियाले आफ्नो २.५ योजना अन्तर्गत ५ नयाँ मोडल ल्याउने घोषणा गरेको छ । कम्पनीले तयार पारेको मिसन २०२५ योजना अन्तर्गत नयाँ ५ मोडल बजारमा आउने भएको हो ।
स्कोडाले सिकेडी र सियूबी दुबै बाटोबाट भारतमा ५ नयाँ मोडल ल्याउन लागेको हो । कम्पनीले इलेक्ट्रीक इन्याक ईभी, सुपर्व, अल न्यू अक्टीभीया आरएस, नयाँ जेनेरेशन कोडियाक र सब फोर मिटर एसयूभी गरी ५ मोडल बजारमा ल्याउने छ ।
स्कोडाले भारतमा उत्पादन गर्ने सब फोर मिटर एसयूभी अन्तर्राष्ट्रिय बजारमा पनि विक्री गर्ने योजना बनाएको छ । अहिले भारतमा स्कोडा कुशक र स्लाभिया उत्पादन गर्दै आएको कम्पनीले तेस्रो मोडलको रुपमा सब फोर मिटर एसयूभी ल्याउने छ । कम्पनीले ल्याउने सब फोर मिटर एसयूभीले मारुती सुजुकी ब्रेजा, किया सोनेट, हुन्डाई भेन्यू, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
स्कोडाले इन्याक ईभी भारतमै एसेम्बल गर्ने तयारी गरेको छ भने अन्य मोडल यूरोपबाट आयात गरेर विक्री गर्ने छ । नेपालमा स्कोडाले भारतमा उत्पादन गरेको र्यापीड, कुशकका अलावा अन्तर्राष्ट्रिय बजारमा विक्री हुँदै आएको कोडियाक, सुपर्व, कारोक जस्ता मोडल अहिले नै विक्री गर्दै आएको छ ।
भारतको लागि तयार गरेको योजना मुताविक स्कोडाका नयाँ मोडल आउने हो भने सब फोर मिटर एसयूभी र इन्याक ईभी हाम्रो बजारको लागि पनि नयाँ मोडल हुनेछ ।


