पीकअपको आयात सन्तोषजनक, यस्तो छ ब्राण्ड अनुसारको आयात

काठमाडौं । पीकअप ट्रक अमेरिकी बजारमा सर्वाधिक विक्री हुने गर्छ । नेपालमा पनि पछिल्ला तीन वर्षमा पीकअपको विक्री बढ्दै गएको देखिन्छ ।

खराब बाटोको लागि निकै उपयोगी मानिने पीकअपहरू निजी तथा सार्वजनिक यातायातको लागि पनि उत्तिकै प्रयोग हुने हुँदा यसको विक्री सन्तोषजनक भएको हो । अहिले नेपालमा टाटा, महिन्द्रा, टोयोटा, इसुजु, निसान, मित्सुबिसी, फोटोन, ज्याक, ग्रेटवाल, म्याक्सस, फोर्ड लगायतका ब्राण्डले पीकअप विक्री वितरण गर्दै आएका छन् ।

पीकअप बजारमा महिन्द्रा निकै बलियो ब्राण्ड हो । महिन्द्राले बोलेरो सिंगल क्याब, बोलेरो क्याम्पर (डबल क्याब) र स्कर्पियो डबल क्याब विक्री गर्दै आएको छ । टाटाले पनि जेनन् र योद्धा विक्री गर्दै आएको छ । योद्धालाई सानो ट्रकको रूपमा नै प्रयोग गर्ने हुँदा हामीले यहाँ तथ्यांक समावेश गरेका छैनौं ।

चालु आर्थिक वर्षको तीन महिनामा सबै कम्पनीले मिलाएर १ हजार ६४ यूनिट पीक आयात भएको छ । यसलाई आधार मान्दा वार्षिक ३ हजार यूनिट हाराहारी पीकअप विक्री हुने अनुमान गर्न सकिन्छ । तर, बजारमा तरलता संकट निरन्तर रहेको कारण त्यसको प्रभाव पीकअप विक्रीमा पनि पर्नेछ ।

चालु आवको तीन महिनामा टाटाले जेनन् पीकअप १३५ यूनिट, महिन्द्राले बोलेरो सिंगल क्याब १९९ यूनिट, बोलेरो क्याम्पर ३१३ यूनिट, स्कर्पियो डबल क्याब १८८ यूनिट र इसुजु डिम्याक्स ११२ यूनिट आयात गरेको छ । त्यसैगरी टोयोटा हाइलक्स ६५ यूनिट, फोटोन टुनल्याण्ड २६ यूनिट, फोर्ड रेन्जर ९ यूनिट, निसान नाभारा ७ यूनिट आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

त्यस्तै, चांगनको हन्टर पीकअप ४ यूनिट आयात हुँदा जेएसी पीकअप ३ यूनिट, ग्रेटवाल मोर्टसको पावर पीकअप १ यूनिट र नयाँ ब्राण्ड म्याक्ससको टी ६० पीकअप २ यूनिट आयात भएको देखिन्छ ।

 

 


Back_to_top