साना ईभीमा बढ्दै प्रतिस्पर्धा, बिक्रीमा कुन अगाडि ?

काठमाडौं । चाडपर्वको समयमा तपाईं कम मूल्यका विद्युतीय कार किन्ने योजना बनाउँदै हुनुहुन्छ भने थुप्रै छनोट पाउन सक्नुहुन्छ । अहिले बजारमा १८ लाखदेखि ३० लाख रुपैयाँ मूल्यसम्मका विद्युतीय कारलाई बजेट कारको सूचीमा राख्न सकिन्छ ।

एमजी, केई, विलिङ, टाटा, नामी, भोल्टस जस्ता ब्राण्डले कम मूल्यका विद्युतीय कार बिक्री गर्दै आएका छन् । यी कारहरू फिचर र डिजाइनको हिसाबले उत्कृष्ट छन् भने केही मोडल रेन्जको आधारमा पनि २५० किलोमिटर माथि रेन्ज दिने खालका छन् ।

संसारभर विद्युतीय कारको मूल्य पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा धेरै छ । तर, नेपाल मात्रै यस्तो देश हो जहाँ तपाईं विद्युतीय कार पेट्रोलको तुलनामा ३५ प्रतिशत कम मूल्यमा खरिद गर्न सक्नु हुन्छ ।

अहिले बजारमा उपलब्ध मिनीकार एमजी कोमेट, केई क्यूट-०२, विलिङ एयर मिनी १८ देखि २२ लाख भित्र किन्न पाइन्छ । यी कार तीन ढोका भएको मोडल हुन् । टाटा टियागो, विलिङ बिङ्गो, केई क्यूट-०४, भोल्टस र डोङफेङ नामी पाँच ढोका भएका फ्यामली ह्याचब्याक कार हुन् ।

आयात र बिक्री तथ्यांक हेर्ने हो भने सन् २०२३ मा टाटा टियागो ईभी सबैभन्दा सफल मोडल देखिएको छ । ९ महिनाभन्दा धेरै अवधिमा टाटाले ९७९ युनिट टियागो ईभी आयात गरेको देखिन्छ । २७ लाख ९९ हजार सुरूआती मूल्य रहेको टियागो नेपालकै सफल ह्याचब्याक ईभी बन्न सफल भएको छ ।

तीन ढोका भएको एमजी कोमेट पनि यही अवधिमा १८० युनिट आयात भएको छ । १८ लाख सुरूआती मूल्य रहेको कोमेट दुई भेरियन्टमा उपलब्ध रहेको छ । त्यस्तै विलिङ विङ्गो ईभीको आयात १०२ युनिट हुँदा हेनरी भोल्टस २९ युनिट आयात भएको छ ।

डोङफेङ नामी सेप्टेम्बर अन्तिमसम्म ३० युनिट आयात हुँदा क्यूटको आयात ४ युनिट देखिन्छ । नामीको सुरूआती मूल्य ३० लाख रुपैयाँ हो भने टप भेरियन्टको मूल्य ३५ लाखसम्म छ ।

यस अवधिमा विलिङ एयर मिनि पनि १९ युनिट आयत भएको छ । यसको मूल्य २१ लाख रुपैयाँ छ । आयातलाई नै आधार मानेर बिक्री तथ्यांक निकाल्दा टाटाले यो सेग्मेन्टमा ६५ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको छ ।


Back_to_top