काठमाडौं । आजबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा ‘एसआरएम’को इलेक्ट्रीक माइक्रोबस प्रदर्शनी हुने भएको छ । विशाल ग्रुप अन्तर्गतको पुजा कन्ट्रक्सनले नेपालमा बिक्री सुरु गर्न लागेको यो माइक्रोबस छोटो दुरीको सार्वजनिक यातायातमा बिक्री गर्ने लक्ष्यसहित नेपाल आएको हो ।
कम्पनीले ११ सिट क्षमतामा ल्याएको यो माइक्रोबसको मूल्य लगायतका विषयमा धेरै जानकारी दिएको छैन । तर, पनि यसको टेक्नीकल डिटेल भने बाहिर ल्याएको छ । ‘एक्स३०एल’ नाम दिइएको माइक्रोबसमा ४१.८६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ ।
उक्त ब्याट्रीलाई फुलचार्ज गर्दा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसमा रहेको ब्याट्रीलाई २० देखि ८० प्रतिशत चार्ज गर्न डिसी फास्ट चार्जरले ४५ मिनेट लगाउने छ ।
माइक्रोबसमा ६० किलोवाट क्षमता पीक पावर भएको मोटर दिइएको छ । यसले २२० एनएम टर्क प्रदान गर्छ । यो रियर ह्वली ड्राइभ सिस्टममा उपलब्ध छ ।
यसको लम्बाई ४५९५ एमएम, चौडाई १६८० एमएम, उचाई १९९० एमएम र ह्वीलवेस २९२५ एमएम छ । १४ इन्चको ह्वील रहेको माइक्रोबसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसको पेलोड क्षमता ९०० किलोग्राम रहेको छ ।