काठमाडौं । स्टेलान्टिस ग्रुपले नेपालमै पहिलोपटक मल्टिब्राण्ड शोरुम संचालनमा ल्याउने भएको छ ।
सांग्रिला मोटर्सले आजदेखि काठमाडौंको उत्तरढोकामा नयाँ कन्सेप्टसहितको मल्टिब्राण्ड शोरुम संचालनमा ल्याउने भएको हो ।
आज एक कार्यक्रमका बीच स्टेलान्टिस इण्डियाका सीईओ शैलेस हलेजाले उक्त शोरुमको उद्घाटन गर्दै छन् ।
उक्त शोरुमबाट स्टेलान्टिस ग्रुप अन्तर्गतका नेपालमा उपलब्ध लीपमोटर, प्यूजो र सिट्रोनको गाडीहरू बिक्री हुनेछ ।

क्याफे कन्सेप्टमा संचालन हुने उक्त शोरुममा कफीको मिठो स्वादसँगै स्टेलान्टिसको युरोप, चीन र भारतमा बनेका गाडीहरूको प्रत्यक्ष अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।

स्टोर अन स्टोर अर्थात स्टोर भित्रको स्टोर कन्सेप्टमा संचालन हुने यो शोरुम नेपालको पहिलो मल्टिब्राण्ड शोरुम भएको सांग्रिला मोटर्सका म्यानेजिङ डाइरेक्टर हेमन्त गोल्छाले मेरो अटोलाई बताए ।

यो शोरुममा पेट्रोल तथा न्यू इनर्जी पावरट्रेनका अन्तर्राष्ट्रिय स्तरका गाडीहरूको अनुभव गर्न सकिने उनले बताए ।

यो शोरुममा लिपमोटरको सी १०, टी०३, सिट्रोनको ईसीथ्री इलेक्ट्रीक भेहिकल तथा प्यूजो र सिट्रोनका पेट्रोलबाट चल्ने गाडीहरू बिक्रीका लागि राखिनेछ ।




