उपत्यकामा ट्राफिकको ‘सरप्राइज चेकिङ’

काठमाडौं । ट्राफिक प्रहरीले सोमबार बिहान काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सरप्राइज चेकिङ गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका कार्यालयले उपत्यकाका विभिन्न स्थानमा सरप्राइज चेकिङ गर्दा १०३ जना सवारी चालकलाई कारबाही गरेको हो ।

ट्राफिकले सार्वजनिक सवारी साधन, पानी ट्याङ्कर, फोहोर बोक्ने सवारी साधन, एम्बुलेन्स र स्कुल बसलाई लक्षित गरी चेकिङ गरेको थियो ।

चेकिङका क्रममा मदिरा पिएर सवारी साधन चलाउने १३ जना चालकहरू कारबाहीमा परेका छन् । जसमध्ये मदिरा सेवन गरेर सार्वजनिक सवारी साधन चलाउने १२ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर र वृत्तहरूमा पठाइएको छ ।

जसमा बस चालक ७ जना र १/१ जना पानी ट्याङ्कर, हाइस माइक्रो, फोर्स गाडी, मिनी ट्रक तथा फोहोर बोक्ने गाडीका चालक रहेका छन् ।

उक्त चेकिङले बिहानको समयमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको ट्राफिकले जनाएको छ ।


Back_to_top