काठमाडौं । भारतमा कार उत्पादन गर्दै आएका दुई ठूला कार निर्माता कम्पनीले ४५ हजार करोड भारतीय रुपैयाँ लगानी थप्ने भएका छन् । भारतकै दुई ठूला उत्पादक मारुती सुजुकी र हुन्डाईले लगानी वृद्धि गर्न लागेका हुन् ।
भारतीय बजारमा करिब ५० प्रतिशत बजार हिस्सा ओगटेको इन्डो–जापानी ब्राण्ड मारुती सुजुकीले आगामी ५ वर्षमा ३८ हजार २०० सय करोड भारतीय रुपैयाँ थप लगानी गर्ने जनाएको छ ।
कम्पनीले गुजरातमा बनाइरहेको नयाँ ईभी प्लान्टको लागि उक्त रकम खर्च गर्न लागेको हो । उक्त कुराको घोषणा सुजुकी मोटर कर्पोरेशनका प्रेसिडेन्ट तोसिहीरो सुजुकीले गरेका हुन् ।
कम्पनीले अहिलेको प्लान्टमा नयाँ प्रोडक्सन लाइनअप थप्न ३ हजार २ सय करोड र नयाँ प्लान्टनै बनाउन ३५ हजार करोड भारतीय रुपैया लगानी गर्ने बताएका हुन् । नयाँ लाइनअप बिस्तार र प्लान्ट निर्माणपछि गुजरातमा २० लाख यूनिट उत्पादन पुग्ने देखिन्छ ।
भारतकै दोस्रो ठूलो उत्पादक हुन्डाई मोटर्सले आफ्नो दोस्रो प्लान्ट बनाउने भएको छ । महाराष्ट्रको पूर्णे नजिक रहेको तलेगाँउको ‘जनरल मोटर्सको फ्याक्ट्री‘ किनेर पुन निर्माणको लागि ७ हजार करोड लगानी गर्ने भएको हो ।
जनरल मोटर्सको तलेगाँउ प्लान्टको वार्षिक उत्पादन क्षमता १ लाख ३० हजार यूनिट रहेको छ । हुन्डाईले यसलाई सन् २०२५ बाट उत्पादन थाल्ने योजना बनाएको छ । हुन्डाईको नयाँ प्लान्ट फुल फेजमा संचालनमा आएपछि भारतमा उसको उत्पादन क्षमता वार्षिक १० लाख यूनिट पुग्नेछ ।

