काठमाडौं । सुजुकी एभेनिसको बुकिङ खुल्ला भएको छ । कम्पनीले भदौ ६ गते सार्वजनिक गर्ने तयारी गरेको नयाँ स्कुटर एभेनिस १२५ को बुकिङ खुल्ला गरेको हो ।
कम्पनीले सुजुकीको आधिकारीक शोरुममा सम्पर्क गरेर स्कुटर बुकिङ गर्न सकिने जनाएको छ । यसको सिधा प्रतिस्पर्धा टीभीएस एनटर्क १२५ सँग हुनेछ ।
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता कम्पनी भीजी सुजुकीले एभेनिस १२५ को मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ लिन सुरु गरेको हो ।
भीजी सुजुकीले लामो समयदेखि नेपाली बजारमा सार्वजनिक गर्ने भनेको एभेनिस १२५ विभिन्न कारणले हुन सकेको थिएन ।
यो स्कुटरले नेपाली बजारमा सेग्मेन्ट लिडर एनटर्क १२५ र होन्डा ग्राजिया १२५ सँग सिधा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । यो स्कुटरमा १२४.३ सीसी २ भल्भ इन्जिन रहेको छ । यो इन्जिनले ८.७ पीएस पावर तथा १० एनएम टर्क जेनेरेट गर्छ ।
एभेनिसमा मूख्य फिचरको रुपमा चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प र टेलल्याम्प, एलइडी डिआरएल छन् । यो स्कुटरको फ्रन्टमा ग्लोवबक्स, साइड स्ट्यान्ड इन्जिन कट फिचर पाउन सकिन्छ ।

