म्याग्नाइट किन्नेले मासिक ३० हजार किस्ता तिर्नु पर्ने

काठमाडौं । बढ्दो ब्याजदरको कारण मासिक किस्तामा गाडी किन्न चाहने ग्राहकले गाडी किन्नै नसक्ने अवस्था आएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले न्यूनतम ब्याजदर नै १३ प्रतिशत बनाएको अहिलेको समयमा औषत ब्याजदर नै १५ प्रतिशत पुगेको छ ।

ह्याचव्याक कारको सेग्मेन्टलाई धक्का दिएर अगाडि बढेको निसान म्याग्नाइट किन्न चाहने मानिसले अहिले कम्तीमा मासिक किस्ता ३० हजार ९ सय रुपैयाँ तिर्नु पर्ने अवस्था आएको हो । १० महिनाअघि बजारमा ८ प्रतिशत हाराहारी ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुँदा म्याग्नाइट किन्ने मानिसले मासिक २५ हजार हाराहारी किस्ता तिर्दा पुग्थ्यो ।

हामीले भनेको मासिक किस्ता निसान म्याग्नाइटको वेस भेरियन्टको हो । अहिले निसान म्याग्नाइटको वेस भेरियन्टको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीले यसमा दिने छुट लगायतका कुनैपनि विषय नसमेटी हिसाव गर्दा यसको मासिक किस्ता झण्डै ३१ हजार रुपैयाँ भएको हो ।

म्याग्नाइटको वेस भेरियन्ट खरिद गर्ने ग्राहकले डाउन पेमेन्ट वापत मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट अनिर्वाय गर्नुपर्छ । त्यो भनेको १५ लाख ९९ हजार ५०० रुपैयाँ पहिल्यै जम्मा गरेको हुनुपर्छ । त्यसपछि त्यति नै रकम कर्जा वापत बैंक तथा वित्तीय संस्थाबाट दिन सकिन्छ । अहिलेको औषत १५ प्रतिशत ब्याजदरको हिसावले नै ७ वर्षसम्म समयाअवधिको कर्जा सुविधा लिन सकिन्छ ।

यस्तो छ म्याग्नाइट

निसान म्याग्नाइट सब फोर मिटर सेग्मेन्टमा उपलब्ध एसयूभी हो । ग्लोवल एनक्याप क्र्यास टेष्ट परिक्षणमा ४ स्टार रेटिङ पाएको म्याग्नाइटमा १.० लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन र १.० लिटर टर्बो इन्जिन उपलब्ध हुनेछ ।

उत्कृष्ट माइलेज र अत्यावश्यक फिचर समावेस भएको म्याग्नाइटमा एसी, हिटर, रियर डिफगर, स्पीड सेन्सिङ अटोलक, प्रसस्त हेडरुम र लेगरुम पाउन सकिन्छ ।


Back_to_top