हुन्डाई मोटर ग्रुप बन्यो तेस्रो ठूलो उत्पादक, पहिलो स्थानमा टोयोटा

काठमाडौं । सन् २०२२ को ६ महिनाको विक्री तथ्यांक सर्वाजनिक भएसँगै हुन्डाई मोटर ग्रुप विश्वकै तेस्रो ठूलो कार निर्माता भएको छ । यो महिनाको अवधिमा हुन्डाई मोटर ग्रुपले ३३ लाख कारको खुद्रा विक्री गरी तेस्रो स्थान कब्जा गरेको हो ।

अघिल्लो वर्षको ६ महिनाको विक्री तथ्यांकको आधारमा हुन्डाई मोटर ग्रुप ५ औं स्थानमा थियो । हुन्डाई मोटर ग्रुप अन्तर्गत हुन्डाई, जेनिसस र किया ब्राण्ड नेमबाट गाडी उत्पादन र विक्री वितरण हुँदै आएको छ । जेनिसस हुन्डाईको प्रिमियम ब्राण्ड हो ।

सन् २०२२ को ६ महिनामा ५१ लाख कार विक्री गर्दै टोयोटाले निकै फराकिलो अग्रतासहित पहिलो स्थानमा रहन सफल हुँदा टोयोटालाई पच्छाई रहेको फक्सवागेनले ४० लाख यूनिट कार विक्री गर्न सफल भएको हो ।

विश्वब्यापी सेमीकन्डक्टरको अभावको कारण धेरै कम्पनीले आफ्नो उत्पादन कटौती गर्नु परेको समयमा भएका कार उत्पादनलाई सबैले राम्रो मानेका छन् । सेमीकन्डक्टरको अभावका बाबजुद हुन्डाईको उत्पादनमा ५.१ प्रतिशत मात्रै गिरावट आएको थियो ।

यसबीचमा टोयोटाको उत्पादनमा ६ प्रतिशतले गिरावट आउँदा अमेरिकी जनरल मोटर्सको उत्पादनमा १८ प्रतिशत, रेनो–निसान–मित्सुवीसीको उत्पादनमा १७.३ प्रतिशत र फक्सवागेनको उत्पादनमा १४ प्रतिशतले गिरावट आएको छ ।


Back_to_top