नयाँ पुस्ताको सस्तो पल्सर !

काठमाडौं । बजाजले नयाँ जेनेरेशन पल्सर सिरिज अन्तर्गत सबैभन्दा सानो १२५ सीसीमा एन सिरिज ल्याउने भएको छ । बजाजले एकपछि अर्को नयाँ पल्सरको एन सिरिज सार्वजनिक गर्दैछ ।

सन् २०२१ को अन्त्यमा नयाँ जेनेरेशन पल्सरको एन २५० र एफ २५० बजारमा ल्याएको बजाजले सन् २०२२ लागेपछि पल्सर एन १६० बजारमा ल्याएको छ । कम्पनीले नयाँ जेनेरेशन पल्सर १५० पनि सेप्टेम्बरमा बजारमा ल्याउने छ । त्यसपछि नयाँ जेनेरेशन पल्सरकाे सबैभन्दा सस्तो मोडलको रुपमा पल्सर एन १२५ आउन लागेको हो ।

अब, कम्पनीले पल्सर सिरिजकै सबैभन्दा सानो साइजको मोटरसाइकल परिक्षण सुरु गरेको तस्विरहरु बाहिर आएका छन् । अहिले परिक्षणमा देखिएको पल्सर एन१२५ नै भएको प्रस्टै देखिन्छ । कम्पनीले यसमा एयर कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले ११.६ पीएस पावर र १०.८ एनएम टर्क प्रदान गर्छ ।

परिक्षणमा देखिएको पल्सर एन १६० बाट पूर्णरुपमा प्रेरित भएको देखिन्छ । कम्पनीले यसमा निकै मस्कुलर फ्यूल ट्याङ्क दिइएको छ भने यसको पछाडिको भाग पूर्णत पल्सर एन १६० जस्तै देखिएको छ । एलइडी टेल लाइट, सेमी डिजिटल इन्ट्रुमेन्ट कन्सोल, सिंगल पिस सिट, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक, टेलस्कोपिक फ्रन्ट सस्पेन्स दिएको छ ।

बजाजले एन १२५ लाई सन् २०२३ को सुरुमै बजारमा ल्याउने अपेक्षा गरिएको छ । बजाजका मोटरसाइकल नेपालमा पनि निकै सफल रहेका छन् । यस्तोमा बजाजले ल्याउने नयाँ एन १२५ मा धेरैको चासो रहन सक्छ ।


Back_to_top