काठमाडौं । निसान म्याग्नाइट नेपालमा सफल मध्येको एक सब फोर मिटर एसयूभी बनिसकेको छ । म्याग्नाइटले नेपाल आएको एक वर्ष अबको केही दिनमा पुरा गर्दैछ । एक वर्षको बीचमा करिब १ हजार ४०० यूनिट म्याग्नाइट विक्री भएबाटै यसको सफलता प्रस्ट हुन्छ ।
निसानको सफल सब फोर मिटर म्याग्नाइट नेपालमा निकै राम्रो संख्यामा विक्री भएको भएपनि यसलाई लामो यात्रामा लिएर निस्कन मिलेको थिएन । गत शुक्रबार पोखरा जाने निधो गरेसँगै बिहिबार गाडी लिन निसानको शोरुम ‘मेगा मोटर्स’ पुगेको थिए ।
मेगा मोटर्सका संचालक महेश पालले फुल अप्सन म्याग्नाइट नभएको र टर्बो इन्जिनमा पनि नभएको बताउँदै भने, ‘अहिले फुल अप्सन गाडी छैन, एक्सएल भेरियन्ट छ, त्यसमा पनि नेचुरल्ली एस्पीरेटेड इन्जिन मात्रै छ ।’
उनको कुरालाई कट्दै मैले भने, ‘ठिक छ । मैले चलाएर हेर्न खोजेको पनि १.० लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन नै हो ।’
केही समयको कुराकानी पछि मेरो हातमा म्याग्नाइटको साँचो आयो । त्यो दिन मैले गाडी लिएर घर गए ।
शुक्रबार बिहान ११ बजे गाडीमा ४ जना बसेर पोखराको लागि निस्केको म्याग्नाइट सुरुमा चलाउँदा केही कमी जस्तो महसुस भयो । त्यसो हुनुमा गाडीमा धेरै फिचर थिएन । साथै, ड्राइभिङ सिट अगाडि र पछाडि बाहेक अन्य तरिकाले मिलाउन मिल्ने थिएन । ‘लो सिट’ एरेन्जमेन्टको कारण मलाई केही समय चलाउन मुस्कील परेको थियो । तर, केही किलोमिटर गुढाउने वित्तीकै बानी बन्यो ।
सुरुमा इन्फोटेन्टमेन्ट छैन भन्ने लागेपनि रेडियो बज्दै वा मोवाइल कनेक्ट गरेर म्यूजिक बजाउन लागेसँगै इन्फोटेन्टमेन्टको याद आउँदो रहेन छ ।
काठमाडौंदेखि पोखराको बाटो एक हिसावले राम्रो बाटो मानिन्छ । तनहुँको कोत्रे एरियामा करिब ५ किलोमिटर बाहेक अन्य स्थानको बाटो राम्रै छ । तर, मुङलिन–पोखरा बाटो विस्तारको काम सुरु भएकाले कहीँ कहीँ ड्राइभर्सनहरु निर्माण गरेको पाइयो । बाटोमा देखिएको यस्ता कच्ची स्थानले गाडीको पर्फमेन्समा खासै फरक पारेन ।
अब कुरा गरौँ यसमा दिइएको इन्जिनको । १.० लिटर थ्रि सिलिण्डर नेचुरल्ली एस्पीरेटेड इन्जिन भएकोले यसको पावर परिक्षण गर्ने मेरो योजना थियो । थ्रि सिलिण्डर इन्जिन भएकोले केही बढी आवाज आउनु स्वभाविक हो । त्यसमा पनि हाइवेमा चल्दा र अरु गाडीलाई ओभर टेक गर्दा आरपीएम बढाउनु पर्छ । त्यसबाट निस्कने आवाज निकै मिठो सुनिन्छ । झण्डै झण्डै रेसिङ कारको जस्तो । तुलनात्मक रुपमा १.० लिटर इन्जिनको समस्या ओभर टेक गर्दा भोग्नु पर्छ तर, म्याग्नाइट चलाउँदा त्यो फिल हुँदैन । अधिकतम ७२ हर्सपावर प्रदान गर्ने इन्जिन तुलनात्मक रुपमा स्मुथ लाग्छ ।

धेरै नेपालीले आफ्नो ग्यारेजमा राखिसकेको म्याग्नाइटको अर्को सबल पक्ष माइलेज हो । यसलाई मैले करिब ४७० किलोमिटर चलाएको थिए । यति यात्रामा म्याग्नाइटले करिब २९ लिटर पेट्रोल खर्च गरेको थियो । औषतमा एक लिटर पेट्रोलले १६ किलोमिटर हाराहारी माइलेज दियो । म्याग्नाइटको इन्जिन र माइलेजको कम्बीनेशन उत्कृष्ट पाइयो ।
गाडी किन्नेले माइलेज र पावर मात्रै होइन यसमा रहेका फिचर पनि हेर्छन् । हेर्नु पनि पर्छ । यात्रा गर्न सहज भएन भने माइलेज र पावरले मात्रै के गर्नु ? रेग्जीनको सिट, अगाडि र पछाडि दुईवटा सिटलाई दिइएको हेडरेष्ट निकै उत्कृष्ट लाग्छ । तर, आर्मरेष्ट हुनु पर्ने स्थानमा दिइएको सामान होल्डरले आर्मरेष्ट नै दिइएको भए के विग्रन्थ्यो जस्तो महसुस गराउँछ ।
एसी, हिटर, फ्रन्ट ब्लो, रियर डिफगर हिटर, डोरलक जस्ता बटम एकै स्थानमा पाउन सकिन्छ । पछाडि दिइएको वाइपर म्याग्नाइटमा बोनसको रुपमा प्रयोग गर्न पाइन्छ भन्दा फरक पर्दैन । तर, ‘स्पीड सेन्सीङ अटो लक’ नहुँदा केही खल्लो महसुस हुन्छ ।
पावरमा ठिकठाक, माइलेजमा उत्कृष्ट र आधुनिक डिजाइनले धेरै मानिसको ध्यान खिच्न सफल म्याग्नाइट अझै केही समय बजारमा ‘हट केक’ मोडल बन्ने देखिन्छ ।
आजकल गाडीमा फेसनको रुपमा प्रयोग हुने इन्फोटेन्टमेन्ट सिस्टम म्याग्नाइटको एक्सएल भेरियन्टमा थिएन । रेडियोको सुविधा भने थियो । सुरुमा इन्फोटेन्टमेन्ट छैन भन्ने लागेपनि रेडियो बज्दै वा मोवाइल कनेक्ट गरेर म्यूजिक बजाउन लागेसँगै इन्फोटेन्टमेन्टको याद आउँदो रहेन छ ।
निसानले म्याग्नाइटमा दिएको हेडरुम र लेगरुमको जति प्रशंसा गरेपनि कम हुन्छ । सम्भवत सेग्मेन्टमै उत्कृष्ट लेगरुम र हेडरुम म्याग्नाइटमा पाउन सकिन्छ ।
निस्कर्ष, निसानले ३१ लाख ९९ हजार रुपैयाँ विक्री गर्दै आएको म्याग्नाइट एक्सएल भेरियन्ट मूल्यको कारण नै सफल भएको देखिन्छ । पावरमा ठिकठाक, माइलेजमा उत्कृष्ट र आधुनिक डिजाइनले धेरै मानिसको ध्यान खिच्न सफल म्याग्नाइट अझै केही समय बजारमा ‘हट केक’ मोडल बन्ने देखिन्छ ।

