काठमाडौं । भारतमा बनेका दुई इलेक्ट्रीक एसयूभीको क्र्यास टेस्ट रिपोर्ट बाहिर आएको छ । भारतमा विद्युतीय कार उत्पादन गर्दै आएको टाटा कर्भ ईभी र सुजुकीले बिक्री नै नथालेको ई-भिटाराको क्र्यास टेस्ट रिपोर्ट बाहिर आएको हो ।
भारत एनक्यापले सार्वजनिक भएको रिपोर्ट अनुसार दुबै एसयूभीले फाइभ स्टार सेफ्टी रेटिङ पाएका छन् । सुरक्षाको लागि दुबै एसयूभी अब्बल देखिएपनि उनीहरूले पाएको अंक भने केही फरक छ ।
सुजुकीको ई-भिटाराले वयस्क यात्रुको सुरक्षामा ३२ मा ३१.४९ अंक प्राप्त गरेको छ । जबकि टाटा कर्भले ३०.८१ अंक पाउन सफल भएको छ । वयस्क यात्रुको लागि दुवै एसयूभी अब्बल देखिएको हो ।
बालक यात्रुको लागि टाटा कर्भ अगाडि देखिएको छ । कर्भले ४९ अंक मध्ये ४४.८३ अंक प्राप्त गर्दा सुजुकी ई-भिटाराले ४३ अंक मात्रै पाउन सफल भएको छ ।
फ्रन्टल अफसेट डिफर्मेबल ब्यारियर परीक्षण १६ पूर्णाङ्कमा गरिएकोमा कर्भले १५.६६ र ई-भिटाराले १५.४९ अंक पाएको हो । साइड मोभेबल डिफर्मेबल ब्यारियर परीक्षणमा ई-भिटाराले १६ पूर्णाङ्कमा १६ नै अंक पाएको छ । जबकी टाटा कर्भले १६ मा १५.१५ अंक पाउन सफल भएको थियो ।
यी दुबै एसयूभीले वयस्क र बच्चा दुबै यात्रुको सुरक्षामा फाइभ स्टार रेटिङ पाउन सफल भएका छन् । भारतीय निर्माताले दुबै एसयूभीमा सुरक्षाको लामो लिस्ट नै दिएको छ । जसमा स्टायण्डर्ड भेरियन्टमै ६ एयरब्याग उपलब्ध छ ।
त्यसैगरी ३६० डिग्री क्यामेरा, अगाडि र पछाडि नै पार्किङ सेन्सर, इलेक्ट्रीक पार्किङ ब्रेक, चारवटै चक्कामा डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, लेभल टु एडास फिचर उपलब्ध छ ।

