काठमाडौं । बजारमा एसयूभीको माग उच्च रहँदा गाडी निर्माताहरूको ध्यान एसयूभीमै पर्न थालेको छ । टाटा मोटर्सले तीन नयाँ एसयूभीको विकास तीव्र गतिमा गरिरहेको समाचारहरू बाहिर आएका छन् ।
कम्पनीले ल्याउने ३ मध्ये एक एसयूभीको सडक परीक्षणसमेत सुरू भएको छ । भारतको विभिन्न भागमा परीक्षण चलिरहेको एसयूभीको कोड नेम ‘स्कारलेट’ राखिएको छ । स्कारलेट नाम दिइएको एसयूभी निकै बोल्ड र अपराइट बक्सी डिजाइनमा देखिन्छ ।
टाटा मोटर्सले नयाँ एसयूभी रग्ड डिजाइन र लाइफ स्टाइल प्रोडक्टको रूपमा बजारमा ल्याउने छ । कम्पनीले आफ्नो नयाँ मानोकर्क प्लेटफर्ममा यसलाई बनाउने छ । स्कारलेट बनिरहेको प्लेटफर्ममा टाटाले पेट्रोलियम पदार्थबाट चल्ने र इलेक्ट्रीक दुवै गाडी बनाउन सक्नेछ ।
अहिले परीक्षण भइरहेको स्कारलेटको केही पनि कुरा कम्पनीले बाहिर ल्याएको छैन । तर, सब फोर मिटर एसयूभीमा १.२ लिटर टर्बो पेट्रोल वा नयाँ १.५ लिटर नेचुरल्ली एस्पेरेटेड पेट्रोल इन्जिन दिने सम्भावना रहेको छ ।
त्यसैगरी, कम्पनीले यसलाई अल इलेक्ट्रीक भर्सनमा पनि ल्याउने छ । यसको इलेक्ट्रीक भर्सनमा भने अगाडि र पछाडि नै मोटर रहने छ । कम्पनीले यसलाई अल ह्वील ड्राइभ क्षमतासहित बजारमा उतार्नेछ ।
टाटा मोटर्सले बनाइरहेका अन्य २ वटा सब फोर मिटर मोडल भने इलेक्ट्रीकमा मात्रै आउने बताइएको छ । प्रोडक्सन कोड नेम कुनो र टेरा नाम दिएर कम्पनीले काम अगाडि बढाएको छ ।
टाटा मोटर्सले सबै सेग्मेन्टमा इन्ट्री लेभल र प्रिमियम गरी कम्तीमा दुुईवटा ईभी ल्याउने रणनीति सार्वजनिक गरे थियो । त्यही अनुसार नयाँ इलेक्ट्रीक एसयूभी बजारमा आउने छन् ।


