काठमाडौं । जापानी अटोमोबाइल कम्पनी निसानले चीनमा बनेका ईभी दक्षिण एशियाली बजारमा बिक्री गर्ने भएको छ । कम्पनीले सन् २०२६ बाट चीनदेखि निसानका कार निर्यात गर्ने भएको हो ।
खासगरी दक्षिण एशियाली बजार, मध्यपूर्वी एशिया र अन्य उदयीमान अर्थतन्त्र भएका देशमा चीनमा बनेका निसानका कार बिक्री गर्ने घोषणा गरेको छ । निसानको उक्त घोषणासँगै चीनमा बनेका निसानका ईभी नेपाली बजारमा पनि उपलब्ध हुने छन् ।
त्यसको लागि निसानले मिडल इस्ट र साउथ एशियाली बजारमा सेल्स र सर्भिस नेटवर्क विस्तार गर्ने रणनीति लिएको छ । आर्थिक संकटसँग जुधिरहेको जापानी अटोमोबाइल कम्पनीले आफूलाई अन्तर्राष्ट्रिय बजारमा आक्रमक बनाउन चिनियाँ उत्पादनको सहारा लिन लागेको हो ।
अहिले ईभी भनेकै चिनियाँ जस्तै भएको छ । चीनमा उत्पादन लागत अत्यन्त कम हुनु, ब्याट्री, मोटर र टेक्नोलोजीमा पनि अब्बल हुँदै गएको कारण चिनियाँ ईभीको लोकप्रियता समेत बढ्दै गएको छ ।
निसानले चीनमा उत्पादन र बिक्री गर्दै आएको एन-सेभेन मोडल निर्यात सुरू गर्नेछ । चीनमा डोङफेङसँगको सहकार्यमा एन-सेभेन बनाएको हो । चीनमा निकै राम्रो प्रतिक्रिया पाइरहेको एन-सेभेनको सुरूवाती मूल्य १६ हजार ४५० अमेरिकी डलर रहेको छ ।
अहिले एन-सेभेन बाहेकका मोडल कुन-कुन बजारमा आउँदैछन् भन्ने एकिन जानकारी निसानले बाहिर ल्याएको छैन । तर, डोङफेङले विकास गरेका धेरै मोडल निसानको ब्याचमा पनि आउन सक्ने बताइएको छ ।

