टाटाको कार बिक्रीमा उछाल, ईभीमा नयाँ रेकर्ड

काठमाडौं । टाटा मोटर्स इन्डियाले प्यासेन्जर कार बिक्रीमा उछाल आएको छ । कम्पनीले सन् २०२६ को जुनमा मात्रै कुल ६३ हजार ८३ युनिट कार बिक्री गरेको हो ।

यो गत वर्ष (सन् २०२५) को सोही अवधिको तुलनामा ६९.४१ प्रतिशत धेरै हो । टाटाले गत वर्ष जुनमा कुल ३७ हजार २३७ युनिट कार बिक्री गरेको थियो । गत वर्षको जुनको तुलनामा यस वर्ष टाटाले २५ हजार ८४६ युनिट धेरै बेच्न सफल भएको हो ।

जुनमा टाटाको व्यापार घरेलु र अन्तर्राष्ट्रिय दुवै बजारमा बढेको हो । टाटाले जुनमा भारतमा मात्रै ६२ हजार ७६ युनिट कार बेचेको छ । यो गत वर्षको तुलनामा ६४.७० प्रतिशत धेरै हो ।

टाटाको निर्यात ५५३.९० प्रतिशतले बढेर १ हजार ७ युनिट पुगेको छ । गत वर्ष जुनमा टाटाले १५४ युनिट मात्रै गाडी निर्यात गरेको थियो ।

जुनमा टाटाको ईभी बिक्रीमा रेकर्ड बनाएको छ । ईभी बिक्री १८३.९ प्रतिशतले बढेर १४ हजार ८०० युनिट पुगेको छ । यो टाटाले हालसम्म कुनै एक महिनामा बेचेको सर्वाधिक ईभी हो । सन् २०२५ को जुनमा ५ हजार २२८ युनिट इलेक्ट्रीक भेहिकल बिक्री गरेको थियो ।

टाटाले एकपछि अर्को नयाँ ईभी मोडल ल्याएपछि बिक्रीमा उल्लेख्य वृद्धि भएको हो । कम्पनीले केही अघि पन्च र टियागो ईभीको फसलिफ्ट मोडल ल्याएको थियो । मंगलबार मात्रै वहुप्रतिक्षित सिएरा ईभी लन्च गरेको छ । यसले टाटाको व्यापार झन् बढाउने अपेक्षा छ ।

टाटाले हाल ९ मोडलका कार बिक्री गर्दै आएको छ । जसमा ७ मोडल आइस र ईभी दुवै भर्सनमा उपलब्ध छन् ।


Back_to_top