काठमाडौं । टाटा मोटर्सको सफल इलेक्ट्रीक एसयूभी नेक्सन ब्यापक परिमार्जनसहित भारतमा सार्वजनिक भएको छ । कम्पनीले नयाँ फेसलिफ्ट नेक्सन ईभी सार्वजनिक गरेपनि मूल्य भने बाहिर ल्याएको छैन ।
भारतीय बजारमा नेक्सन ईभीले निकै राम्रो सफलता पाएको थियो । प्रतिशतका आधारमा भारतमाभन्दा नेक्सन नेपालमा सफल मानिन्छ । टाटा नेक्सन ईभीकै कारण सिप्रदीले प्यासेन्जर कार सेग्मेन्टमा हुन्डाई र मारुती सुजुकीलाई पछाडि पारेको थियो ।
अहिले आएको नेक्सनमा मेकानिकल परिवर्तनभन्दा पनि डिजाइन, कलर र फिचरमा ब्यापक परिवर्तन गरेर ल्याएको हो । यसको अगाडि, पछाडि र बडी डिजाइन सबैमा ब्यापक परिवर्तन गरिएको छ ।
इन्टेरियर पूर्ण नयाँ जस्तै देखिन्छ । ड्यासबोर्ड, स्टेरिङ ह्वील, सेन्टर कन्सोल, स्वीच बटम, सिट लगायतका सबै फिचरमा परिमार्जन भएर आएको नेक्सन ईभीको मूल्य भने सेप्टेम्बर १४ तारिखमा घोषणा हुने जनाइएको छ । त्यही दिन नेक्सन पेट्रोल र डिजेल मोडल पनि सार्वजनिक हुनेछ ।

यसअघि पेट्रोलियम पदार्थबाट भल्ने नेक्सन र इलेक्ट्रीक नेक्सनमा कलर मात्रै फरक थियो । तर, यस पटकभने डिजाइनमा नै फरक पाउन सकिने छ । यसअघि २०२० मा पहिलोपटक नेक्सन ईभीमा आएको थियो । त्यसको ठिक तीन वर्षपछि कम्पनीले यसको डिजाइनमा परिवर्तन गरेको हो ।
टाटाले नेक्सन ईभीमा दिइएको दुई ब्याट्री अप्सनलाई निरन्तरता दिएको छ । यसअघि प्राइम र म्याक्स नाममा आएको नेक्सन अब मिड रेन्ज (एमआर) र लङ रेन्ज (एलआर) नामबाट आउने छ । कम्पनीले एमआर मोडलमा ३०.२ किलोवाट आवरको ब्याट्री दिएको छ । त्यसैगरी एलआर भेरियन्टमा ४०.५ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । प्याक अप्सनमा आउने छ ।
नयाँ जीपट्रोन जेन-२मा आधारित नयाँ नेक्सनको अगाडिको डिजाईन धेरै हदसम्म कर्भ कन्सेप्टमा आधारित छ । यसको पछाडिको भागभने ह्यारीयरबाट प्रेरित देखिन्छ । कम्पनीले नयाँ नेक्सन ईभीमा ७.२ किलोवाट क्षमताको एसी चार्जर स्टायडर्ड रुपमा दिएको छ ।

भेहिकल टु लोड र भेहिकल टु भेहिकल चार्जिङ सुविधा उपलब्ध नयाँ नेक्सन कुनै पनि विषयमा अहिले बजारमा रहेका इलेक्ट्रीक मोडलभन्दा कमजोर देखिदैन । कम्पनीले यसको पफर्मेन्समा पनि १० देखि १५ प्रतिशत सुधार भएको दावी गरेको छ ।
यसमा दिएको मोटरको पीक पावरमा परिवर्तन भएको छैन । तर, टर्क भने दुबै मोडलमा वृद्धि भएको छ । कम्पनीले यसमा ईको, सिटी र स्पोर्टस् ड्राइभ मोड दिएको छ ।
टाटाले नेक्सनको दुबै मोडललाई क्रियटीभ, फियरलेस र इम्पावर्ड गरी ३/३ भेरियन्टमा उपलब्ध गराउने जनाएको छ ।
नेक्सनमा ब्यापक परिवर्तन गरेको कारण अहिले नेपालमा उपलब्ध अन्य मोडल माथि थप दवाव सृजना हुने देखिन्छ । कम्प्याक्ट साइज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक फिचरको बलमा फेसलिफ्ट नेक्सन ईभीले नेपालमा कस्तो ब्यापार गर्छ, त्यो हेर्न भने केही महिना कुर्नु पर्ने हुन्छ ।

