नाडा अटो शोमा टीभीएसले दुई नयाँ मोडल मात्रै राख्ने

काठमाडौं । टीभीएसको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले भदौ २६ गतेदेखि सुरु हुने नाडा अटो शोमा आफ्नो इलेक्ट्रीक स्कुटर आईक्यूब र रोनीन क्रुजर मोटरसाइकल मात्रै प्रदर्शनी गर्ने भएको छ ।

कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर आइक्यूबको बिक्री सुरु गरिसकेको भएपनि अटो शोमा विशेष प्रदर्शनी गर्न लागेको हो । तर, रोनीन क्रुजर मोडल भने बिक्री सुरु नभएको मोडल हो ।

‘हामी धेरै मोडल राखेर ग्राहकलाई अलमल्लमा पर्ने योजनामा छैनौं । हाम्रा दुई मोडल आईक्यूब र रोनीनको विषेश प्रदर्शनी गर्नेछौं’, कम्पनी स्रोतले भन्यो ।

टीभीएससँग अहिले अन्य नयाँ मोडल नभएको कारण आइक्यूबलाई बिक्री गर्ने र रोनीन प्रदर्शनी गर्ने तयारी गरेको हो । टीभीएसको पहिलो क्रुजर मोटरसाइकल रोनीन अवलोकनको लागि मात्रै उपलब्ध हुनेछ ।

कम्पनीले टीभीएस आइक्यूब इलेक्ट्रीक स्कुटरको भने आधिकारिक रुपमा नै बिक्री सुरु गरिसकेको छ । कम्पनीले यसको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको थियो ।

यस्तो छ आइक्यूब

टीभीएस आइक्यूवमा ३ किलोवाटको हब मोटरको प्रयोग गरिएको छ । यसको पीक पावर ४.४० किलोवा हो । टर्क भने १४० एनएम प्रदान गर्छ । यसको टप स्पीड ७८ किलोमिटर प्रति घण्टा रहेको छ ।

आईक्युबमा ३.०४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यसलाई एक पटक फुल चार्ज गरेर ७५ देखि १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यो स्कुटरमा रिजेनेटिभ ब्रेकिङ सिस्टम भएको कारण यसको रेन्ज सडकको अवस्था अनुसार बढ्न सक्छ ।

आइक्यूबमा टीभीएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचर समेत उपलब्छ छ । चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर कल/एसएमएस अलर्ट, नेभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टी–थेप्ट जस्ता स्मार्ट फिचरहरु प्रयोग गर्न सक्नेछन् ।

यो स्कुटरमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक एब्जर्बर सस्पेन्सन प्रयोग गरिएको छ । यो स्कुटरको सिट हाइट ७७० एमएम छ भने, ग्राउन्ड क्लियरेन्स १५० एमएम छ ।


Back_to_top