अटो शोमा सहभागी हरेक ब्राण्डले नयाँ कुरा ल्याउँदै छन् : संयोजक बरालको अन्तर्वार्ता

काठमाडौं । नाडा अटो शो २०२३ आगामी मंगलबार (भदौ २६ गते)देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । सन् २०१९ पछि पहिलो पटक आयोजना हुन लागेको अटो शोमा विभिन्न १०० भन्दा धेरै स्टलहरू रहने छन् ।

यसवर्षको अटो शोमा १६ वटा चारपाङ्ग्रे गाडी बिक्रेता, २२ वटा दुईपाङ्ग्रे सवारी बिक्रेता, ७ वटा कमर्शियल गाडी बिक्रेता, ५० हाराहारी टायर, ट्युब हेल्मेट र स्पेयर पार्टस्, बैंक तथा वित्तीय संस्था र इस्योरेन्स कम्पनीहरू सहभागी हुन लागेको आयोजक नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले जानकारी दिएको छ ।

नाडा अटो शोलाई देशकै ठूलो मेला पनि भन्ने गरिन्छ । करिब ७० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको अटो शो सुरू हुन ४ दिन मात्रै बाँकी रहेको समयमा तयारी कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा अटो शोका संयोजक अनुपकुमार बरालसँग मेरोअटोले गरेको कुराकानीको सम्पादीत अंश :

अटो शो आउन ४ दिन मात्रै बाँकी छ । भृकुटीमण्डप सिंगार-पटारको काम सुरू भयो होला नि होइन ?

मंगलबारबाट अटो शो सुरू हुने भएकाले स्टल मार्किङको काम त सुरू गर्नै पर्यो नि । यसपटक वर्षा जारी रहेको छ । भृकुटीमण्डपको प्रदर्शनी हलको अवस्था निकै नाजुक भएको रहेछ । जताततै पानी चुहिन्छ, फोहोर त्यस्तै छ । दुई दिनदेखि हाम्रो टीम सरसफाइ र चुहिएको ठाँउमा टाल्ने काममा व्यस्त छ । नालाहरू खुल्ला गरेका छौं । भित्ताहरू कलर गर्ने काम सकिएको छ । ट्वाइलेको अवस्था त्यस्तै नाजुक छ । धाराहरू छैनन्, फेर्ने काम चलिरहेको छ । अहिले बाहिरपट्टी डोम लगाउने काम सकिएको छ । समग्रमाभन्दा तयारी राम्रैसँग अगाडि बढेको छ ।

यसवर्ष कम्तीमा दुईवटा नयाँ ब्राण्डले नाडाबाटै नेपाल प्रवेशको घोषणा गर्दै छन् ।

त्यसो भए प्रदर्शनी हलको दूरदशा नै छ होइन त ?

त्यसै भन्नु पर्यो । सबै पिलरबाट पानी चुहिएको छ । छानामा मानिस चढाउन सक्ने अवस्था छैन । मानिस चढाएर मर्मत गर्न छोटो समयमले पुग्ने कुरै भएन । हामीले जसोतसो यो वर्षको लागि काम चल्ने बनाएका छौं । आजबाट सबै कम्पनीलाई स्टल मार्किङ गरेर दिन्छौं । उहाँहरूले आजैबाट निर्माणको काम सुरू गर्ने मैले जानकारी पाएको छु । हामीसँग शनिबार, आइतबार र सोमबारसम्म स्टल निर्माणको समय छ ।

तपाईंलाई सहभागी ब्राण्डहरूले आफ्नो तयारी र नयाँ प्रोडक्टका विषयमा केही जानकारी दिएका छन् ?

सबै ब्राण्डहरूले आफ्नो योजना हामीलाई जानकारी गराउनु पर्दैन । यहाँ स्टल राखेर बसिसकेपछि कम्पनीहरूले नयाँ केही न केही ल्याउनु हुन्छ नै । नाडा अध्यक्षले प्रिमियम भ्यान ल्याउँछु भनिसक्नु भएको छ ।

विद्युतीय साधनमा धेरै नयाँ मोडल आउन लागेको मैले सुनेको छु । पेट्रोलमा पनि नयाँ मोडलहरू आउने छन् । विशेषगरी महिन्द्रा, एमजी, बीवाइडी, टाटा, हुन्डाई जस्ता ब्राण्डले नयाँ मोडल ल्याउने छन् । यसवर्ष कम्तीमा दुईवटा नयाँ ब्राण्डले नाडाबाटै नेपाल प्रवेशको घोषणा गर्दै छन् । यस्तै दुई पाङ्ग्रेमा पनि बजाज, टीभीएस, होन्डा जस्ता पुराना र चल्तीका ब्राण्डले नयाँ मोडल ल्याउने छन् । बैंकहरूको स्कीम पनि नयाँ हुनसक्छ । यति धेरै ब्राण्डले प्रदर्शनीमा भाग लिएको कारण नयाँ धेरै कुरा आउने छन् ।

भृकुटीमण्डपमा पार्किङ बन्द गर्ने निर्णय गर्नु भएको छ । नाडाले कतै पार्किङको व्यवस्था गरेको छ ?

हामीले टुँडीखेल र खुल्लामञ्चलाई बीचमा पारेर सटल बस संचलान गर्दैछौं । हामीले ठाँउ तोकेर पार्किङको व्यवस्था गर्न नसक्ने भएकै कारण पार्किङ आफैं व्यवस्था गर्न भनिएको हो । हामीकहाँ ठूला पार्किङ छैनन् । तर, भ्यू टावर, सैनिक कल्याण भवन जस्ता ठाँउमा लगेर गाडी पार्किङ गरेर सटलबस चढेर आउन सकेकोखण्डमा मेला स्थल वरपर राम्रो हुने हाम्रो अपेक्षा छ । हामी विदेशमा हुने प्रदर्शनीमा १५/२० किलोमिटर सटल बसको प्रयोग भएको देख्छौं । नेपालमा पनि हामी पहिलो पटक प्रयास गर्दैछौं । यसलाई सफल बनाउन म सबै अवलोकर्तालाई आह्वान गर्दछु । सटल बस सफल भए प्रदर्शनी केन्द्रमा हुने पार्किङ समस्या सधैंको लागि हट्नेछ ।

नाडा अटो शोको साइड लाइनमा कुनै कार्यक्रमहरू आयोजना हुँदैछन् वा छैनन् ?

अघिल्लो वर्ष हामीले ईभी शो मात्रै आयोजना गरेका थियौं । ईभी शो मात्रै हुँदा त्यहाँ ईभी चौतारी नामबाट तीन दिन नै कार्यक्रम गरेका थियौं । यस वर्ष ६ दिन मेला चल्ने छ । यस्तोमा हामीले अटो क्षेत्रमा कलम चलाई रहेका पत्रकारहरूको संस्था जाम नेपालसँग मिलेर बृहत् छलफल आयोजना गर्दैछौं । साथै, अन्य आर्थिक पत्रकारहरूको संस्थासँग पनि सहकार्य गर्ने भनेका छौं । केही न केही नयाँ अभ्यास हामी अटो शोको दौरान गर्नेछौं ।


Back_to_top